Thursday, December 27, 2012

ट्राफिक प्रहरीले मुस्कानसहित सेवा दिने


 काठमाडौं उपत्यकामा सवारी व्यवस्थापनमा खटिएका ट्राफिक  प्रहरीको आचरण र व्यवहारमा फरक पाइने भएको छ । अब विगतमा जस्तो छुचो र रुखो रूपमा नभई मुस्कानसहितको हसिलो अनुहार र सरल व्यवहारका साथ ट्राफिक प्रहरी प्रस्तुत हुनेछन् ।
सवारी व्यवस्थापनमा १८ घन्टासम्म खटिएर काम गर्दासमेत उनीहरुको बारेमा सडक प्रयोगकर्ता र व्यवसायीबाट जनगुनासो र टीकाटिप्पणी हुने क्रम नरोकिपछि सङ्गठन आचार र व्यवहार सुधारको पाटोलाई अघि बढाउने निष्कर्षमा पुगेको हो । त्यसका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले आफ्ना मातहतको जनशक्तिलाई मुस्कानसहितको सेवा प्रदान गर्न निर्देशनसमेत दिइसकेको छ ।
महाशाखाले आफ्नो मातहतका जनशक्तिको आचरण र व्यवहारमा परिवर्तन ल्याउन तालिम तथा अनुशिक्षण कार्यक्रम बिहीबारदेखि सुरु गरेको छ । ‘मुस्कानसहितको सेवा’ नाम दिइएको अनुशिक्षणको उद्घाटन गर्दै महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख नवराज ढकालले प्रहरी सङ्गठनको दूतको रुपमा ट्राफिक प्रहरी सडकमा खटिने हुँदा सङ्गठनको छविलाई उज्ज्वल तुल्याउन उनीहरुको व्यवहार र आचरणले ठूलो योगदान पुर्‍याउने बताउनुभयो ।
महाशाखाका प्रमुख उपेन्द्रकान्त अर्यालले ट्राफिक प्रहरीको आचरण र व्यवहार सुधार्नुपर्ने पाटोका बारेमा धेरै जनगुनासो आएपछि त्यसलाई सुधार्न अनुशिक्षण कार्यक्रमको थालनी गरिएको उल्लेख गर्नुभयो । हाल उपत्यकामा १ हजार १ सय ४६ जना मात्रै ट्राफिक प्रहरी छन् । रासस

No comments:

Post a Comment