Wednesday, December 26, 2012

डिस्चार्जपछि मनीषा पुस्तक र ध्यानमा

उपचारको क्रममा अमेरिकाको न्युयोर्कमा रहकी अभिनेत्री मनीषा कोइराला शनिबार अस्पतालबाट डिस्चार्ज भएकी छिन्। शल्यक्रिया पछि उनको घाउ ठीक हुँदै गएकाले डिस्चार्ज भएपनि चिकित्सकसँग नियमित जाँच गर्नुपर्ने भएकाले केही महिना मनिषा अमेरिकामा नै बस्ने उनकी निकट सहयोगी मृदुला कोइरालाले बताइन्। नागरिकसँगको अनलाइन सम्पर्कमा मृदुलाले भनिन्,‘अब उनी म्यानहटनमा आमाको साथ रहनेछिन्। मनिषालाई भेट्न मुम्वईबाट समेत उनका कलाकार साथीसंगी आउन लागेका छन्।' ठूलो रोगबाट छुटकारा पाएकी मनिषालाई भेटाईदिन अमेरिकामा रहेका धेरैले मृदुलालाई अनुरोध गरेका छन्। तर, संक्रमण होला भनेर अहिले कसैलाई पनि भेट नगराएको उनले जानकारी दिइन्। ‘डाक्टरले अनुमति दिएपछि उनका सुभेच्छुकहरुलाई भेट्ने व्यवस्था मिलाइने छ,' उनले भनिन्। विस्तारै भेटघाटको योजना बनाउने उनले जानकारी दिइन्। यसका लागि मनीषा पनि तयार रहेको उनको भनाई छ। मनिषाको आत्मविश्वास बलियो हुँदै गएको उनले पाएकी छिन्। ‘अबको केही समय मनिषाले मेडिटेसन, अध्ययन र आराममा बिताउने छिन्। राम्रो राम्रो किताब र फिल्ममा उनको अधिकांस समय बित्नेछ। उत्साह जगाउने खालको पुस्तक मनिषाको रोजाइमा परेको छ,' मृदुलाले भनिन्। उनकाअनुसार हिडडुल गर्न, हास्न, बोल्न मनिषा सक्ने भएकी छिन्। आफू संसारको सबैभन्दा राम्रो अस्पतालमा सबैभन्दा दक्ष चिकित्सकसँग उपचार गराइरहेकी छु भन्नेमा उनी ढुक्क छिन्। ‘उनले रोगलाई सहज किसिमले लिएकी छिन्। सोचेभन्दा राम्ररी उपचार भयो भन्छिन्, फिल्म र करिअरका बारेमा पनि कुनै चिन्ता देखाएकी छैनन्,' मनीषासँगै रहेकी मृदुलाले बताइन्। काठमाडौंमा रहँदा पेट दुखेकाले नर्भिक अस्पतालमा भर्ना भएकी मनीषा उपचार गराउन दिल्ली हुँदै अमेरिकाको न्युयोर्क पुगेकी हुन्।

No comments:

Post a Comment