Monday, December 24, 2012

कमाउन गएका दुई हजारको मृत्यु

काठमाडौं, १० मंसिर । विगत पाँच वर्षको अवधिमा वैदेशिक रोजगारीका लागि गएका करिब दुई हजार युवाको रोजगारीकै क्रममा मृत्यु भएको छ । घरखेत बेचेर कमाउन गएका उनीहरूको विभिन्न कारणले विदेशी भूमिमै मृत्यु भएको हो । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार आर्थिक वर्ष ०६४र६५ देखि चालु आव ०६९र७० को मंसिर मसान्तसम्म रोजगारीमा गएका एक हजार नौ सय ९२ जनाको विदेशमा मृत्यु भएको हो । यसरी रोजगारीकै क्रममा विदेशी भूमिमा ज्यान गुमाउनेमध्ये अधिकांश हृदयघातकै कारण देखिएको छ । बोर्डका अनुसार रोजगारीका लागि बिदेसिनेको संख्या बढेसँगै प्रतिवर्ष विभिन्न कारणले रोजगारीकै क्रममा मर्नेको संख्यासमेत बढ्दै गएको छ । बोर्डका निर्देशक टीका भण्डारी विगत पाँच वर्षयता रोजगारीका क्रममा विदेशमा मर्नेको संख्या बढ्दै गएको बताउँछन । उनका अनुसार रोजगारीका क्रममा मर्ने अधिकांश पुरुष कामदार छन् । सरकारले रोजगारीमा जानुपूर्व कामदारलाई अभिमुखीकरण तालिम अनिवार्य गरे पनि ट्राफिक नियम नजान्दा दुर्घटनामा पर्ने, दिनभरि उच्च तापक्रममा काम गरी मादक पदार्थ सेवन गरी एसिडयुक्त कोठामा सुत्दा हृदयघात भएर मर्नेको संख्या बढ्दै गएको छ । बोर्डका अनुसार यसरी विदेशमा मर्नेका परिवारलाई मात्र पाँच वर्षे अवधिमा २१ करोड १० लाख ६९ हजार रुपियाँ आर्थिक सहायता वितरण भएको छ । सो रकम बोर्डअन्तर्गतको कामदार कल्याणकारी कोषबाट मृतकका आफन्तलाई दिइएको हो । ‘रोजगारीका लागि विदेश जाने प्रत्येक कामदारबाट बोर्ड अन्तर्गतको कल्याणरी कोषमा एक हजार रुपियाँ जम्मा हुन्छ,’ निर्देशक भण्डारीले भने, ‘सोही कोषबाट पाँच वर्ष अवधिमा विदेशमा मृत्यु भएका करिब दुई हजार कामदारको आफन्तलाई आर्थिक सहायता वितरण भएको छ ।’ बोर्डले अहिले विदेशमा मृत्यु हुनेका परिवारलाई जनही एक लाख पचास हजार र घाइते तथा अंगभंग भएकालाई अवस्था हेरी १० हजारदेखि एक लाख ५० हजार रुपियाँसम्म आर्थिक सहायता दिने गरेको छ । बोर्डका अनुसार चालु आवको पुस पहिलो सातासम्म मात्र दुई सय ७५ जनाको रोजगारीकै क्रममा विदेशमा मृत्यु भएको छ । यसरी मर्नेमा दुई सय ६९ जना पुरुष र ६ महिला कामदार छन् । चालु आवको साउनमा रोजगारीकै क्रममा ६९ जनाको विदेशमा मृत्यु भएको छ । यसमा ६८ जना पुरुष र एकजना महिला कामदार छन् । यस्तै, भदौमा ६६, असोजमा ७१, कात्तिकमा २९ र मंसिरमा ४० जना कामदारको विदेशमा मृत्यु भएको बोर्डले जनाएको छ । ती मृतक कामदारका परिवारलाई बोर्डले तीन करोड ६४ लाख ७० हजार रुपियाँ आर्थिक सहायता वितरण गरेको जनाएको छ । यस्तै, गत आर्थिक वर्ष ०६८र६९ मा रोजगारीका क्रममा विदेशमा मर्नेको संख्या मात्र ६ सय ४६ जना छ । उनीहरूका परिवारलाई बोर्डले सात करोड ७० लाख ३० हजार रुपियाँ सहायता दिइएको थियो । सो आवमा ६ सय ३० जना पुरुष र १६ महिला कामदारको रोजगारीका क्रममा विदेशमा मृत्यु भएको छ । उनीहरूमध्ये अधिकांश करारअवधि नसकिँदै मृत्यु भएको बोर्डले जनाएको छ । रोजगारीका लागि विदेश गएमध्येका सो अवधिमा सबैभन्दा बढी मलेसियामा रहेका कामदारको मृत्यु भएको बोर्डले जनाएको छ । मलेसियामा मात्र एक वर्षमा दुई सय ३७ जनाको मृत्यु भएको छ । यस्तै, साउदी अरबमा एक सय ७९, कतारमा एक सय २८, युएईमा ४९, कुवेतमा २२, बहराइनमा ८, ओमानमा ६, दक्षिण कोरियामा ६, लेवनान र इजरायलमा ३र३ जना र जापानमा दुईजना कामदारको मृत्यु भएको छ । उनीहरूमध्ये कतिपय सवारी तथा मेसिनरी दुर्घटना परेर र केहीले आफँै आत्महत्या गरेर मृत्यु भएको बोर्डले जनाएको छ । साथै, आव ०६८र६९ मा विभिन्न दुर्घटनामा परी अंगभंग तथा घाइते हुनेको संख्या ६४ रहेको छ । बोर्डका अनुसार अघिल्लो आव ०६७र६८ मा पाँच सय ५० जनाको विदेशमा मृत्यु भएको थियो । सवारी दुर्घटना, मेसिनरी पार्टपुर्जामा परेरलगायत घटनामा विदेशमा कामदारको मृत्यु हुनेगरेको छ । विदेशमा मृत्यु तथा अंगभंग भएकालाई सरकारले चार करोड ८३ लाख नौ हजार रुपियाँ सहायता वितरण गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा भने विदेशमा मृत्यु हुनेको संख्या बढेकाले सहायता वितरण बढी भएको बोर्डले जनाएको छ । बोर्डले मृतकका आफन्तको निवेदनको आधारमा राहत वितरण, शव झिकाइदिने तथा दूतावाससँग समन्वय गरिदिने गरेको छ । यस्तै, सो आवमा एक सय २२ मृतक कामदारको शव सम्बन्धित मुलुकबाट ल्याई उनीहरूको घरसम्म पुर्‍याइदिएको जनाएको छ ।

No comments:

Post a Comment