Monday, July 22, 2013

सामुहिक नग्न-स्नान गरेर विश्व किर्तिमान


सामुहिक नग्न-स्नान गरेर विश्व किर्तिमान

स्पेनको विरा सहरस्थित एक सामुद्रिक तटमा आइतबार बिहान ७२९ जना मानिसहरुले एकसाथ नांगै स्नान गरी विश्व किर्तिमान कायम गरेका छन् ।

दक्षिण पश्चिमी विरा सहरको उक्त सामुद्रिक तटमा आइतबार यति धेरै महिला तथा पुरुषहरु सर्वांग नग्न बनेर सामुहिक स्नान गरेका हुन् । यसअघि न्युजिल्याण्डमा ५०६ जनाले एकैचोटी नांगै नुहाएर किर्तिमान कायम गरेका थिए । स्पेनी तटको सामुहिक निर्वस्त्र स्नानले त्यो रेकर्ड भंग गरेको हो ।


विश्वको सबैभन्दा ठूलो निर्वस्त्रीकरण भन्ने नाराका साथ भएको उक्त सामुहिक नग्न स्नान समारोहलाई विरा सिटी हलले प्रायोजन गर्नुका साथै स्पेनिस नेचेरिज्म फेडेरेसनले सहयोग गरेको थियो ।

सामुहिक नग्न स्नानका लागि एल प्लायाजो तटमा आइतबार बिहानै देखि निर्वस्त्र मानिसहरुको भेला सुरु भएको थियो । दिउसो सम्म भेला भएका मानिसहरुले मध्यान्ह एकसाथ पानीमा डुबुल्की मारे ।



सामुहिक नग्न स्नानमा सहभागी हुनेलाई तटीय क्षेत्रमा प्रवेशका क्रममा दर्ता गरिएको थियो र त्यसपछि ५०-५० जनाको समूहमा बाँडिएको थियो ।

विरा सहरले आफ्नो तटीय क्षेत्रमा निर्वस्त्र स्नानको किर्तिमान कायम गरेसँगै यो सहरले यसलाई आफ्नो पर्यटन प्रवर्धनको माध्यम बनाएको छ ।