Friday, December 14, 2012

राष्ट्रपति पनि चुनाब चाहदैनन् : थापा

२९ मंसिर, काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले शीर्ष चार दलका नेताहरुले जस्तै राष्ट्रपति डा. रामवरण यादवले पनि नयाँ निर्वाचन नचाहेको आरोप लगाउनुभएको छ ।  थापाले संविधानसभा भंग गरेर मुलुकलाई संकटमा धकेल्ने ठूला चारदललाई मात्रै सहमतीय सरकार वनाउने जिम्मा दिनुले कतै राष्ट्रपतिले पनि चुनाव गराउने नचाहेका त होइनन् भन्ने प्रश्न उब्जिएको बताउनुभयो ।
 पार्टीले पुस २ गतेवाट गर्न लागेको जनकपुर- लुम्बिनी, विन्धवासिनी-पशुपतिनाथ रथयात्रावारे जानकारी दिन शुक्रवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा थापाले  चार दलहरु असफल भैसकेका भन्दै चार दलभित्रैबाट प्रधानमन्त्री बनाइए आगामी बैशाखमा नयाँ निर्वाचन हुन नसक्ने दाबी गर्नुभयो । उहाँले राष्ट्रपतिले असफल चार दलका नेताहरुलाई सहतीय सरकार वनाउन आहृवान गरेर तिनै असफल दललाई पुरस्कृत गर्न खोजकोको आरोप लगाउनुभयो । थापाले भन्नुभयो,’ पाँच वर्षसम्म सहमतीय सरकार बनाउन नसकेका चार दलले राष्ट्रपतिले दिएको समयसीमामा सरकार बनाएर वैशाखमा निर्वाचन गराउन सक्दैन । बरु उल्टै देशलाई ठूलो दुर्घटनामा पार्छन ।’ थापाले काँग्र्रेस एमालेले माओवादीको सरकार नस्वीकार्ने अनि माओवादीले काँग्रेस एमालेको सरकार नस्वीकार्ने भएकाले यस्तो अवस्थामा तटस्थ चुनावी सरकार गठन गर्नु पर्ने बताउनुभयो । उहाँले ठूला चार दलको नेतृत्वमा बन्ने सरकारले गराउने निर्वाचन निष्पक्ष नहुने भएकाले बहालवाला वा पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गरेर नयाँ निर्वाचनमा जानुपर्ने बताउनुभयो ।
 थापाले सरकार गठनका लागि राष्ट्रपतिले दलहरुलाई सहमतीय सरकार बनाउन गरेको आहृवानलाई त्रुटीपूर्ण र विवादास्पद भन्नु भएको छ ।  थापाले राष्ट्रपतिले चार दललाईमात्रै छलफलमा बोलाएर आफूहरुलाई बाइपास गरेको भन्दै आक्रोश पोख्नुभयो । थापाले प्रजातन्त्रको आवरणमा राष्ट्रपतिलाई उचालेरकाँग्रेस एमालेले प्रजातन्त्रमाथि अधिनायकवाद लाद्न खोजेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘प्रजातन्त्रको आवरणमा काँग्रेस एमालेले प्रजातन्त्रमाथिनै अधिनायक लाद्न खोजेका छन् । तर, उनीहरुले त्यस्तो कुचेष्टा गरे प्रजातन्त्र नै समाप्त हुन्छ । त्यो उनीहरुका लागि नै आत्मघाती हुन्छ ।’ थापाले नयाँ निर्वाचनमा जान बाधा अड्काउ फुकाउनुपर्ने भएकाले निर्वाचन प्रणाली, निर्वाचनमा जान कसरी अड्चन हटाउन सकिन्छ भन्नेबारे घनीभूत छलफल गरेर एकैपटक संविधान संसोधन गर्नुपर्ने बताउनुभयो ।
राप्रपा नेपालले आयोजना गरेको रथ यात्रा आगामी पुस २ गतेदेखि जनकपुरवाट सुरु भएर लुम्बिनी, पोखरा हुँदै पुस ११ गते काठमाण्डौको पशुपतिनाथ आएर टुंगिनेछ । पुस २ गते जनकपुरवाट सुरु हुने यात्रालाई पार्टी अध्यक्ष कमल थाप र कालीबाबाले सम्वोधन गर्नुहुनेछ । रथयात्राका लागि राप्रपा नेपालको निम्तोमा दिल्लीबाट कालीबाबा बिहीबारै काठमाडौं आइपुगेका छन् । नेपाली मूलका काली बाबालाई नेपालमा हिन्दू राष्ट्र र राजतन्त्र पुनःस्थापनाको वकालत गर्ने व्यक्तिका रुपमा लिइन्छ ।
राप्रपा नेपालले यो रथयात्रा राजनीतिक उद्देश्यले नभई धार्मिक सद्भावका लागि आयोजना गर्न लागेको बताएको छ ।

No comments:

Post a Comment