Tuesday, December 25, 2012

तालिकाबिनै लोडसेडिङ बढेको बढ्यै

तालिकाबिनै लोडसेडिङ बढेको बढ्यै
प्रधानमन्त्रीको लाज ढाक्ने बाटो हेर्दै प्राधिकरण
१० पुस, काठमाडौं । नेपाल विद्युत्त प्राधिकरणले निकालेको तालिका हेर्ने हो भने अहिले दिनमा १० घण्टामात्रै लोडसेडिङ हुनुपर्ने हो । तर, पाँच दिन भयो-तालिकाभन्दा एक-डेढ घण्टाअघि नै बत्ती जान थालेको । दिनमा दुईपटक एक-एक घण्टाका थपिँदा मात्रै १२ घण्टा हुन्छ । तर, कहिले डेढदेखि दुईघण्टा समेत थपिने भएकाले लोडसेडिङ १२ घण्टा नाघिसकेको छ ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो हिउँदमा दैनिक १२ घण्टाभन्दा बढी लोडसेडिङ नगर्न विद्युत्त प्राधिकरणलाई निर्देशन दिइसक्नुभएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुधार कार्ययोजनामा पनि यही उल्लेख छ । प्राधिकरणका कर्मचारीले लोडसेडिङ १२ घण्टामा सीमित गर्न नसकिने बताउँदै आए पनि प्रधानमन्त्रीले वैकल्पिक उपाय अपनाएर भए पनि लोडसेडिङ सीमित गर्न भन्नुभएको छ । प्रधानमन्त्री यही ठाडो आदेशका कारण घोषितरुपमै १२ घण्टाभन्दा बढी लोडसेडिङ गर्न प्राधिकरणलाई अप्ठेरो छ । त्यसैले अघोषितरुपमै लोडसेडिङ बढाएर प्राधिकरणले उपभोक्तालाई जिल्याइरहेको छ ।
पन्छिँदै कर्मचारी
हिजोआज लोडसेडिङको विषयमा कुरा गर्नेबित्तिकै प्राधिकरणका कर्मचारी पन्छिन खोज्छन् । यसअघि लोडसेडिङ बढाउने बेला पत्रकारसित खुलेर कुरा गर्ने प्राधिकरणको प्रणाली सञ्चालन विभागका प्रबन्धक भुवनकुमार क्षेत्री यस विषयमा आफूले केही भन्न नसक्ने बताउनुहुन्छ । लोडसेडिङको विषयमा प्राधिकरणका प्रवक्ता शेरसिंह भाटसित कुरा गर्न उहाँले भन्नुभयो । लोडसेडिङको प्रश्न सुन्दासुन्दा हैरान भएका भाट पनि यसबारे अहिले नै केही भन्न नसक्ने बताउनुहुन्छ । ‘लोडसेडिङको तालिका निकाल्नेबेला आवश्यकता अनुसार लोडसेडिङ थपघट हुन्छ भनेर सूचना जारी गरिएको छ, त्यही सूचनाको आधारमा अहिले परिस्थिति हेरेर थप भएको हुनुपर्छ’ उहाँले भन्नुभयो ।
तर, योभन्दा पहिले दुई दिनजति अघोषित रुपमा लोडसेडिङ भएको दुई दिनमै प्राधिकरणले नयाँ तालिका सार्वजनिक गथ्र्यो । अहिले पाँच दिनदेखि हरेकपटक अघोषितरुपमा लोडसेडिङ थपिँदा समेत नयाँ तालिका आएको छैन । प्राधिकरण स्रोतका अनुसार बढेको तालिका सार्वजनिक गर्न अप्ठेरो छ । अब नयाँ तालिका प्रकाशित गर्नेबित्तिकै लोडसेडिङ १२ घण्टाभन्दा बढी हुन्छ । जुन प्रधानमन्त्रीको निर्देशन र शासकीय सुधार कार्ययोजना विपरीत हुन्छ । १२ घण्टाभन्दा बढी हुँदा प्रधानमन्त्रीलाई समेत लाज हुने । नगर्दा अरु वैकल्पिक उपायले काम गरेको छैन ।
त्यसैले प्रधानमन्त्रीको लाज जोगाउने गरी लोडसेडिङ घोषित रुपमै बढाउने उपाय खोज्न प्राधिकरणका कर्मचारी व्यस्त छन् । त्यो उपाय पत्तो नलाग्दासम्म उपभोक्ताले बिना सूचना चर्को लोडसेडिङ खेप्नुपर्नेछ ।
उपभोक्ता अधिकारमाथि खेलवाड
विद्युत्त प्राधिरणले बिना सूचना लोडसेडिङ बढाउनु उपभोक्ता हक, अधिकार विपतरीत भएको अधिकारकर्मीहरुको भनाइ छ । ‘यो ठाडै सूचनाको हक पाउने उपभोक्ताको अधिकारमाथि खेलबाड हो’ उपभोक्ता अधिकारकर्मी रामचन्द्र सिंखडाले भन्नुभयो । लोडसेडिङको तालिकामा उल्लेख भएको सूचनालाई आधार मानेर लामो समयसम्म अघोषित रुपमा लोडसेडिङको समय बढाउन नमिल्ने उहाँले बताउनुभयो ।

No comments:

Post a Comment