Thursday, December 13, 2012

फेसबुकबाट प्रधानमन्त्रीले भने,’केही दिनमा देखाउँछु’


फेसबुकबाट प्रधानमन्त्रीले भने,’केही दिनमा देखाउँछु’
२८ मंसिर, काठमाडौं । विदेशी नेताले सामाजिक सञ्जाल ट्वीटर, फेसबुक आदिमा आफ्ना कुरा लेखेको प्रशस्तै सुन्ने गरिन्छ । संसारका शक्तिशाली राष्ट्रपति बाराक ओबामालाई फेसबुकमा सहजै भेट्न सकिन्छ । तर, हाम्रो देशका ठूला नेताहरु ट्वीटरमा बहस गर्नुको साटो प्रधानमन्त्रीले लगाउने स्वीटरकै बहसमा बढ्ता अल्मलिने गरेका छन् । तर, बिहीबार अचानक प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल फेसबुकबाट आफ्नो कुरा सार्वजनिक गर्नुभएको छ ।
प्रधानमन्त्री भट्टराईले आफ्नै फेसबुक एकाउन्ट प्रयोग गर्नुभएको चाँहि होइन, उहाँले आफ्ना निजी सहयोगी विश्वदीप पाण्डेको फेसबुकमार्फत् आफ्नो अभिव्यक्ति राख्नुभएको हो, जसमा प्रधानमन्त्री भट्टराईले बैसाखमा चुनाव हुने ग्यारेन्टी भए आफूले सहमति र त्याग गर्न तयार रहेको बताउनुभएको छ । अब केही दिनभित्रै यसको परिणाम देखिने पनि प्रधानमन्त्रीले बताउनुभएको छ ।
फेसबुकमा प्रधानमन्त्रीको भनाइ
प्रधानमन्त्रीले फेसबुकमा भन्नुभएको छ- ‘दलहरुवीचमा सहमति जुटाउने प्रयासलाई मैले तीब्र बनाएको छु, त्यही अनुसार मेरो प्रयासले केही दिनमा सहमति जुटाएर सकारात्मक परिणाम देखाउँछ ।’ फेसबुक स्टाटसमा प्रधानमन्त्रीको थप भनाइ छ – ‘यो राजनीतिक प्रक्रियाको सफलामा नै मेरो सफलता हो, यो प्रक्रियाको असफलतामा सबैभन्दा बढी असफल कोही हुन्छ भने त्यो म नै हुँ । त्यसकारण संविधानसभाबाट संविधान जारी गर्नुको कुनै अन्य विकल्प छैन । त्यसकारण वैशाखमै चुनाव गर्ने कुरामा म प्रतिवद्ध छु । बैशाखमा चुनाव गर्न ग्यारेन्टी गरी आवश्यक सहमति, लचकता र त्याग गर्न म तयार छु ।’
 फेसबुक दुरुपयोगबाट वाक्क छन् नेताहरु
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको फेसबुक एकाउन्ट नै नभएको चाहिँ होइन । तर, आफ्नो नाममा नक्कली खाता खोलिएपछि आफू अर्थमन्त्री भएका बेला डा. भट्टराईले फेसबुक सञ्चालकलाई पत्र लेखेर नक्कली एकाउन्ट बन्द गराउनुभएको थियो । नेपालमा स्पष्ट साइबर कानून नभएको र फेसबुक दुरुपयोगकर्तालाई समाउने चुस्त संयन्त्र नभएको फाइदा उठाउँदै नेताहरुका नाममा फर्जी फेसबुक खोलिने क्रमले गर्दा पनि हुन सक्छ, ठूला नेताहरु यो सामाजिक सञ्जालमा त्यति सक्रिय देखिँदैनन् ।
केही महिनाअघि मात्रै कांग्रेस नेतृ सुजाता कोइरालाले नक्कली फेसबुकका कारण हैरान नबनेपछि प्रहरीलाई गुहारेकी थिइन् । नक्कली फेसबुक खोल्ने ‘साइबर अपराधी’ ले आफ्नो तस्वीर अर्धनग्ग महिलामा जोडेर फेसबुकमा राखेपछि कोइरालाले प्रहरीलाई उजुरी गर्नुभएको थियो । सुजाताको जस्तै नक्कली फेसबुक सुसील कोइरालाको पनि देख्न पाइन्छ । यसरी नेताका नाममा खोलिएका नक्कली फेसबुकले गर्दा सामाजिक सञ्जालमा कुन सक्कली र कुन नक्कली भनी छुट्याउन समस्या पर्ने गरेको छ । माओवादी र एमाले नेताका नाममा खोलिएका यस्ता धेरै फेसबुकहरु सम्बन्धित व्यक्तिकै हुन् भनेर पत्याउन अप्ठ्यारो भएकाले पनि नेताहरु सामाजिक सञ्जालमा सुलभ हुन सकेका छैनन् ।
नेकपा माओवादी प्रवक्ता पम्फा भुसाल फेसबुकमा सहजै फेला पर्ने नेतृ हुनहुन्छ । त्यसैगरी कांग्रेस नेता रामचन्द्र पौडेल पनि फेसबुकभित्र तस्वीरमा भेटिनुहुन्छ । काँग्रेसका युवा नेता गगन थापा, एमालेका प्रदीप नेपाल, प्रदीप ज्ञवाली, रवीन्द्र अधिकारी, योगेश भट्टराईलगायतका नेताले आफूलाई ‘फेसबुक पुस्ता’ बनाउनुभएको छ । तर, हाम्रो देशका ठूला भनिने सबै नेताहरु फेसबुक र ट्वीटर लगायतका सामाजिक सञ्जालमा कहिलेबाट छिर्लान् ? जे होस् प्रधानमन्त्रीले फेसबुक प्रयोग गरेर सकारात्मक संकेत गरेका छन् ।

No comments:

Post a Comment