Friday, December 28, 2012

करोड लुट्न प्लास्टिक पेस्तोल

करोड लुट्न प्लास्टिक पेस्तोल
-प्लास्टिकको पेस्तोल प्रयोग गरेर लुटेराले बैंक अफ काठमाडौंको दाङ शाखाबाट एक करोड रकम लुटेको नयाँ तथ्य खुलेको छ। पुस ६ गते कार्यालयमा तीनजनाको समूहमा आएकाले हतियार देखाएर क्यासियर, म्यानेजर र सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर लुटपाट गरेका थिए।

केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा डकैतीमा प्रयोग भएको हतियार प्लास्टिकको भएको पुष्टि भएको हो। अनुसन्धानले घटनामा चलचित्र ‘लुट' कै कथानकको शैलीमा बैंक लुटिएको देखाएको छ।
बैंकका अप्रेसन इन्चार्ज खगेन्द्र बस्नेतले बैंक लुट्न काठमाडौंमा प्लम्बर काम गर्ने र विद्यार्थीको समूह बनाएका थिए। लुटपाटका लागि उनीहरुले महाबौद्धमा दुईवटा प्लास्टिकको पेस्तोल किनेको ब्युरोका एसएसपी उत्तमबहादुर कार्कीले बताए।
ब्युरोले बुधबार बैंक डकैतीमा प्रत्यक्ष संलग्न चारजनालाई काठमाडौंमा पक्राउ गरेपछि उनीहरुले बैंक डकैतीमा प्रयोग गरेको हतियार नक्कली भएको खुलेको हो।
पक्राउ परेका अमर बोहरा, प्रकाश परियार, सुशील रोकाया, प्रेम तामाङ र मिनुर तामाङलाई बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो। ब्युरोका अनुसार पक्राउ चारैजना घटनामा प्रत्यक्ष संलग्न थिए।
सुरुमा घटना रहस्यमय देखिए पनि बैंकका कर्मचारी बस्नेतको व्यवहार र बैंकभित्र रहेको क्लोज सर्किट टेलिभिजन बन्द भएकाले प्रहरीले डकैतीमा बैंककै कर्मचारीको संलग्नता आशंका गरेको थियो। प्रहरीले बैंकका अप्रेसन इन्चार्ज बस्नेतलाई दाङमा पक्राउ गरेको थियो। उनकै जानकारीका आधारमा अन्यलाई प्रहरीले बिहीबार काठमाडौंमा पक्राउ गरेको ब्युरोले जनाएको छ।
ब्युरोका अनुसार बैंक डकैतीका मुख्य योजनाकार बस्नेत हुन्। सवारीचालक अमर बोहोरा, प्लम्बर प्रकाश परियार, विद्यार्थी सुशील रोकाया, प्रेम तामाङ र मिनुर तामाङले बस्नेतको योजना सफल बनाएका थिए।
हिनामिना लुकाउन डकैती
ब्युरोका अनुसार करिब डेढ वर्षदेखि अप्रेसन म्यानेजर बस्नेतले बैंकको रकम हिनामिना गर्दै आएका थिए। उनले बैंकको करिब २ करोड रकम व्यक्तिगत काममा खर्च गरेकाले सोही हिनामिना लुकाउन दुई महिनाअघिदेखि डकैतीको योजना बनाएका थिए।
दाङमा उनको सम्पर्क पातलो भएकाले उनले आफ्नो योजना सफल बनाउन काठमाडौंमा आएर सहयोगी खोजेका थिए। प्रहरीका अनुसार उनले काठमाडौंमा अध्ययनरत सुशील रोकायामार्फत अन्य सहयोगी जम्मा पारेका थिए।
समूह बनाएपछि बस्नेत मंसिर २९ गते काठमाडौं आए। दोस्रो दिन बिहान १० बजे रोकायाले भेला पारेका परियार, प्रेम र मिनुरस"ग नया" बानेश्वरको रातो भालेमा बसेर बैंक डकैती योजना सुनाएका थिए।
उनले फिल्मी शैलीको योजना सुनाउँदै आपूmले सबै प्रबन्ध गरेकाले सजिलै डकैती गर्न सकिने र प्रहरीले पत्तै नपाउने भन्दै उनीहरुलाई योजनामा संलग्न गराएका थिए। सहयोगीहरु डकैती योजनामा राजी भएपछि उनी सोही रात दाङ फर्किए।
‘काठमाडौंमा योजनाको जिम्मा पाएका सुशीलले पुस १ गते भृकुटीमण्डपबाट झोला र ज्याकेट, महाबौद्धबाट दुईवटा प्लास्टिकको पेस्तोल किने,' ब्युरोका डिएसपी दिनेश आचार्यले अनुसन्धान नतिजा सुनाए, ‘मंसिर १ गते बेलुका बस चढेर सहयोगी घोराही पुगे।'
प्रहरीका अनुसार दोस्रो दिन बिहानै बस्नेत होटलमा आएर डकैती योजनाको ब्रिफिङ गरेका थिए। उनले सबैलाई बेलुका सवा तीन बजे बैंकको रेकी गर्न बोलाएका थिए। योजनाअनुसार प्रेम र प्रकाश बैंक गएर अवलोकन गरी डकैतीपछि भाग्ने वैकल्पिक बाटो हेरेर होटल फर्किएका थिए।
अनुसन्धान अधिकारीका अनुसार मंसिर ४ गते बैंक लुट्ने योजना पक्का भएको थियो। तर, सो दिन बैंकमा गार्डहरुलाई ज्याकेट बाँड्ने कार्यक्रम रहेकाले अन्य शाखाचका सुरक्षाकर्मीसमेत आएका थिए। बस्नेतले योजना ६ गतेलाई सारे।
उनले डकैतीपछि रकम सुरक्षित राख्न परिचित तीर्थराज शर्माको बा ७ च ३६८५ नम्बरको रातो बोलेरो जिप लिएका थिए। योजनाअनुसार ६ गते चारजना तुलसीपुर बसपार्क पुगे। बस्नेत त्यहीँ गएर उनीहरुलाई २५ हजार रुपैंयासँगै काठमाडौं फर्कने चारवटा टिकट दिए।
अनुसन्धान अधिकारीका अनुसार उनीहरु आइएमईबाट पैसा पठाउने र पैसा जम्मा गर्ने बहानामा ६ गते बेलुका साढे पाँच बजे बैंकमा छिरेका थिए। अन्दाजी ६ बजे पेस्तोल झिकेर उनीहरुले बैंक म्यानेजर ऋषि श्रेष्ठ, सुरक्षागार्ड, प्रेम नेपाली र क्यासियरलाई नियन्त्रणमा लिए।
‘उनीहरु पैसा राखेको भल्टमा गए, म्यानेजर र गार्डलाई घोप्टो पारेर हात बा"धे,' डिएसपी आचार्यले भने, ‘क्यासियरले भल्टबाट पैसा निकालेर झोलामा राखिदियो।'
प्रहरीका अनुसार करिब १० मिनेटमै प्रकाश परियार पैसा लिएर गाडीमा पुगेका थिए। उनी सोही गाडीबाट आलुमण्डी पुगेर कपडा फेरेका थिए। उनले झोलामा रहेको एक लाख ५० हजार निकाले। जिपचालक अमर बोहोराले पैसाको झोला आफ्नो कोठामा पु¥याएर जिप पुनः बैंकअगाडि पार्क गरेका थिए।

एक करोड अन्योलमा
सिआइबी अधिकारीका अनुसार डकैतीमा संलग्न चारैजना बैंकबाट बाहिर निस्केर नजिकैको नालीमा नक्कली पेस्तोल फालेर लोकल बस चढी घोराही लागेका थिए। संगै हिँड्दा पक्राउ पर्नसक्ने देखेर उनीहरुले काठमाडौं आउन छुट्टाछुट्टै बसको टिकट काटेका थिए।
सुशील र मिनुर एउटा बसमा, प्रकाश र प्रेम अर्कोमा चढी काठमाडौं हिँडेका थिए। प्रकाश मुङलिनमा झरेर गोरखा पालुङटार गए। अन्य काठमाडौं आए। प्रकाशले लिएको डेढ लाखमध्ये ५० हजार हजुरआमालाई र ६० हजार बाबुलाई दिएर भोलिपल्ट काठमाडौं फर्किएका थिए।
बैंकले डकैतीपछि बैंकमा २ करोड ६ लाख रकम हराएको दाबी गरे पनि प्रहरीले करिब ८७ लाखमात्र बरामद गरेको छ। लुटिएको रकममध्ये ८६ लाख ७९ हजार रुपैयाँ दाङमै अमर बोहोराको कोठामा फेला परेको थियो। ब्युरोले परियारको गोर्खामा रहेको घरबाट ५० हजार फेला पारेको थियो। बाँकी रकम खुल्न सकेको छैन।
अनुसन्धानमा संलग्न डिएसपी आचार्य बस्नेतको साथबाट ९ लाख ६० हजारको चेक फेला परे पनि अन्य रकम नखुलेको बताए। बैंक डकैतीमा प्रयोग भएको ब्यागमा २ करोड रकम अट्न नसक्ने प्रहरीको निष्कर्ष छ। बैंकको दाबीअनुसारको रकम नलुटिएको अनुसन्धान अधिकारीको निष्कर्ष छ।

No comments:

Post a Comment