Wednesday, July 3, 2013

गाडीवालको तानातानले बाटो हिँड्नेहरु हैरान


गाडीवालको तानातानले बाटो हिँड्नेहरु हैरान

 काठमाडौं । पछिल्तिर झोला भिरेर माइक्रोबसबाट कलंकी चोक ओर्लनेबित्तिकै स्यालले कुखुरा झम्टेझैं दुई/तीनजना हात नै तान्न आइपुगे । एउटाले त बोकिरहेको झोला नै समाउँला झैं गर्यो । ‘ए दाइ कहाँ जाने, पूर्व हो…?’ हैन भन्न नपाउँदै अर्को तान्न आइपुग्यो-’पश्चिम कहाँसम्म, नारायणघाट, बुटवल…?’ त्यता पनि हैन भनेको सुनेपछि अर्को फेरि झम्टँदै आइपुग्यो-’दाइ कहाँसम्म, फोल्डिङ सिट खाली छ….।’1

हैन, भनेर अलि पर पुग्न नपाउँदै फेरि अर्को उसैगरी लम्किझम्की गर्दै आइपुग्यो । ‘अंकल कहाँ पुग्ने, यता खाली छ’ अर्को भाइले भन्यो । ‘म कलंकीसम्म मात्रै भाइ ।’ ‘कलंकी त यही त हो नि, के कुरा गर्छ यो दाइ पनि ।’ यति भन्दै ऊ अरु मान्छेलाई तान्न दौडियो । बिहानै टिकट लिएको बस कतिखेर आइपुग्ला र शान्त भएर बस्न पाइएला भनेर सोच्दै थिएँ, त्यहीबेला अर्को बस अघिल्तिर आएर रोकियो । ‘दाइ तपाईंलाई हाम्रो गुरुजीले बोलाउनुभएको छ’ एउटा भाइले नजिक आएर भन्यो । होला कोही गाउँघरका साथीभाइ, एकछिन बात मारौं न त भनेर बसमा चढेको चिनेजानेको ड्राइभर नै होइन । ‘कहाँ जाने तपाईं आउनुस् बस्नुस्’ ड्राइभरले भने । बल्ल थाहा भयो, सहचालक र ‘टिकट दलाल’ले समेत नभ्याएपछि गुरुजीले पनि यात्रु फकाउने नयाँ तरीका सिकेका रहेछन् । ल भयो भनेर त्यहाँबाट ओर्लिएँ । कलंकी चोकबाट पर पेट्रोलपम्पसँग पुगेको बस फेरि फनक्कै कलंकीचोकतिरै फर्कियो ।2

अघिल्तिर सिटमा फाट्टफुट्ट बसेका यात्रु जिल परे । ‘मान्छे नभरी के लान्थ्यो’ अर्का भुक्तभोगी यात्रुले थपे । राजधानी बाहिर जाने यात्रुले कलंकीमा दैनिक भोग्नुपर्ने नियति हो यो । नयाँ बसपार्क, कोटेश्वर, चाबहिल लगायतका क्षेत्रमा जस्तै कलंकीमा पनि बसको टिकट लिने काउन्टर थुप्रै छन् । नागढुंगा नाका हुँदै राजधानी बाहिरका जिल्लामा जाने यात्रुमध्ये कतिपय टिकट लिन कलंकी नै पुग्छन् । अन्यत्र टिकट काट्नेहरु पनि बस चढ्न कलंकी जाने गर्छन् ।

कलंकीमा बसका सहचालक, टिकट बिक्रेता र ‘टिकट दलाली’ हरुको सडक छेउमा भीड नै हुन्छ । कसले आफ्नो गाडीमा धेरै यात्रु खाँद्ने भन्नेमा प्रतिष्पर्धा नै चल्छ । एउटाले यसमा जाऔं र अर्कोले उसमा जाऔं भन्दै तानातान गर्दा पहिलोपटक त्यहाँबाट बस चढ्न लागेका सर्वसाधारण यात्रु सबैभन्दा बढी मारमा पर्ने गरेका छन् । अलिकति चनाखो नहुने हो भने धेरैजना ‘टिकट दलाली’ हरुको फन्दामा पर्छन् ।3

केही ठगीमा परेपनि प्रतिष्पर्धाले यात्रुलाई फाइदा पनि हुने गरेको छ । मज्जाले ‘बार्गेनिङ’ गर्न सक्यो भने सस्तो भाडामै ठाउँमा पुग्न पाइन्छ । तर कलंकीबाट चल्ने बस सिट नभरी नगुड्ने हुँदा यात्रुले झन् बाढी सास्ती खेप्नुपर्छ । खाली सिट देखेर मख्ख पर्दै बस्यो, बस पनि उसैगरी बसिरहन्छ । टिकट काटेर चालक र सहचालक हूल नै बाँधेर मान्छे खोज्न जान्छन् । कलंकीमा एकछिन उभिएर हेर्दा लाग्छ, बस चढेर गन्तव्यमा पुग्ने यात्रु पोखरीका माछा जस्तै हुन् । चालक, सहचालक र ‘टिकट दलाल’ हरु चाहिँ माछा समात्न बसेका माझी ।

No comments:

Post a Comment