Tuesday, January 8, 2013

अढाई लाखको “सुपारी” दिएर श्रीमानको हत्या

अढाई लाखको “सुपारी” दिएर श्रीमानको हत्या -टेकराज थामी काठमाडौं, २५ पुस । मुलुकभर महिला हिंसाविरुद्धको आवाज उठिरहेका बेला राजधानीमा एक महिलाले प्रेमीसित मिलेर आफ्नै पतिको हत्या गराएकी छन् । ‘कन्ट्रयाक्ट किलर’ लाई अढाई लाख रुपियाँको सुपारी दिएर उनले पतिको हत्या गराएको रहस्य खुलेको छ । कन्ट्रयाक्ट किलरमार्फत हत्यामा संलग्न संखुवासभा मकालु–५ की २८ वर्षीया याङ्जी शेर्पा र संखुवासभा याफु–९ का २५ वर्षीय पासाङनिम्बा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले दुईजना हत्यारा भाडामा लिएर संखुवासभा, मकालु–५ का २९ वर्षीय फुदोर्जी शेर्पाको हत्या गरेका हुन् । फुदोर्जीको २२ पुस राति ११:२० बजे चपली भद्रकाली–८ स्थित उनकै निर्माणाधीन घरनजिकैको छाप्रोमा हत्या गरिएको थियो । पेपर कटरले घाँटी रेटी हत्या गरिएको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जनाएको छ । हत्यामा संलग्न ‘कन्ट्रयाक्ट किलर’ सोलुखुम्बु देउसा–२ का २७ वर्षीय नीरकुमार कार्की र सोलुखुम्बु छेस्कान–२ का २६ वर्षीय फुर्तेन्जी शेर्पा हुन् । फुदोर्जीको हत्याका लागि उनीहरूले घटनाका योजनाकार पासाङबाट जनही एक लाख २५ हजार रुपियाँ लिएका थिए । हत्यापश्चात् उनीहरूले मृत शरीरलाई कम्बलले बेरी ढल जम्मा हुने खाडलभित्र फालेका थिए । ‘लगानी’ प्रेमीको २०५८ सालमै फुदोर्जीसँग प्रेमविवाह गरेकी याङ्जीको दुई वर्षअघि पासाङसँग चिनजान भएको थियो । ट्रेकिङ व्यवसायमा संलग्न फुदोर्जी काममा गएका बेला याङ्जीको भेट पासाङसँग बाक्लिन थाल्यो । बेला–बेलामा ‘गिफ्ट’सहित उपस्थित हुने पासाङलाई याङ्जीको मन जित्न समय लागेन । फुदोर्जी नभएका बेला कोठामा नै आएर उनले याङ्जीसित शारीरिक सम्बन्ध राख्न थाले । याङ्जी पनि श्रीमान्भन्दा पासाङसँगको सम्बन्धमा रमाउन थालिन् । सामान्य विषयमा पनि निहुँ खोज्न लागेपछि फुदोर्जीले श्रीमतीप्रति शंका गरे । पछि पत्ता लाग्यो, परपुरुषसित श्रीमतीको लसपस । बुझ्दै जाँदा दुईबीच शारीरिक सम्बन्ध नै रहेको उनले थाहा पाए । फुदोर्जीले श्रीमतीलाई सम्झाए । पासाङको नियत ठीक नभएको देखेपछि उनले कपन प्रहरीमा उजुरीसमेत दिए । घटनामा पासाङको दोष देखिएपछि कपन प्रहरीले फुदोर्जीलाई एक लाख रुपियाँ क्षतिपूर्ति दिलाएर मिलापत्र गरायो । तर, पासाङ यसबाट चेतेनन् । फुदोर्जी ट्रेकिङ गएका बेला दैनिक याङ्जीको कोठामा जान लागे र शारीरिक सम्बन्ध पनि नियमितजसो नै हुन थाल्यो । यद्यपि, उनी याङ्जीलाई सधैँका लागि आफ्नो बनाउन चाहन्थे । अन्तत: फुदोर्जीको हत्याबाहेक अन्य विकल्प उनले देखेनन् । पासाङले फुदोर्जीको हत्या गर्ने योजना सुनाए याङ्जीलाई । श्रीमान्बाट सधैँका लागि छुट्कारा पाउने लोभमा याङ्जीले पासाङको प्रस्तावलाई स्विकारिन् । दुवैजना मिली फुदोर्जीको हत्या गर्ने योजना बुने । त्यसका लागि ‘कन्ट्रयाक्ट किलर’को खोजीमा जुटे । उनीहरूले कपन डेरा गरी बस्ने संखुवासभाकै नीरकुमारलाई भेटे । पैसा पाउने भएपछि नीरकुमार राजी भए । उनी माओवादीका कार्यकर्ता पनि थिए । उनकै सहयोगमा कपनकै फुर्तेन्जीलाई पनि रकम दिने भन्दै हत्याको सुपारी दिइयो । २२ पुसका दिन हत्या गर्ने योजना बन्यो । स्थान छानियो– उनकै निर्माणाधीन घरको छाप्रो । २२ पुसको बेलुका फुदोर्जी श्रीमती याङ्जीसँग निर्माणाधीन घरनजिकैको छाप्रोमा सुतिरहेका थिए । रातको करिब १० बजे श्रीमान् सुतिसकेको थाहा पाएपछि याङ्जीले श्रीमान्कै मोबाइलबाट पासाङलाई मिस कल गरिन् । आफू भने नजिकै रहेको डेरामा सुत्न गइन् । पासाङले मिसकलको अर्थ बुझे । ‘कन्ट्रयाक्ट किलर’ उनीसँगै थिए । दुवैलाई लिएर उनले बाटोकै एक भट्टीमा रक्सी पिए । नशामा रहेका उनीहरूले पसलबाट पेपरकटर किने । सेटिङअनुसार तीनैजना घटनास्थल पुगे । फुदोर्जी मस्त निद्रामा थिए । त्यही मौकामा नीरकुमारले उनको खुट्टा समाते । फुर्तेन्जीले घाँटी अठ्याए । चिच्याउन लागेपछि तीनैजना डराए । मुख थुन्दा पनि नभएपछि फुर्तेन्जीले पेपर कटर झिके र उनको घाँटीको अघिल्लो भागबाट रेट्न थाले । छट्पटाएपछि पेपर कटर चिप्लियो र फुर्तेन्जीको हात पनि काट्न भ्यायो । आक्रोशित फुर्तेन्जीले पेपर कटर अझ तेज पारे । रगतको सिर्का हान्दै शरीरबाट प्राण उड्यो । मृत शरीरलाई कम्बलमा पोको पारी नजिकैको खाल्डोमा डम्प गरे । तीनैजना गेस्ट हाउसमा सुत्न गए । यसरी समातिए अभियुक्त निर्माणाधीन घरनजिकको खाल्डोमा घाँटी रेटिएको अवस्थामा भेटिएको शव पहिचान भएलगत्तै प्रहरी टोली श्रीमती याङ्जीलाई भेट्न पुग्यो । श्रीमान् मर्दाको वियोग उनको अनुहारमा देखिँदैनथ्यो । प्रहरीले उनीमाथि नै शंका गर्‍यो । पत्ता लाग्यो, उनको एक ब्वाइफ्रेन्ड पनि छ । खोजी गर्दै जाँदा उनको ब्वाइफ्रेन्ड पासाङ रहेको खुल्यो । उनीहरूबीच दुई वर्षदेखि शारीरिक सम्बन्ध रहँदै आएको, फुदोर्जी र पासाङबीचको विवाद प्रहरीसम्म पुगेकोलगायत रहस्य खुल्यो । पासाङलाई पक्राउ गरियो । उनीसँगको अनुसन्धानबाट हत्याको उद्देश्य खुल्यो । हत्यामा संलग्न अन्य दुईसहित सुपारीबापत लिएको रकम पनि बरामद भएको छ । एसएसपी देवेन्द्र सुवेदीका अनुसार श्रीमती नै श्रीमान्को ‘कन्ट्रयाक्ट किलिङ’ मा सहभागी भएको यो पहिलो घटना हो । उनले भने, ‘कन्ट्रयाक्ट किलरबाट फुदोर्जीको घाँटी रेटेर हत्या गरेको देखिन्छ, यो घटना नेपालमा पनि सुपारी लिएर व्यक्ति हत्या गर्ने ट्रेन्ड विकास भएको एउटा प्रमाण हो, यसो हुनु दुर्भाग्यपूर्ण छ ।’

No comments:

Post a Comment