Friday, January 18, 2013

कोरियन कम्पनीको रोजाइमा नेपाली कामदार l

 कोरियन कम्पनीको रोजाइमा नेपाली कामदार l

 रोजगार अनुमति प्रणाली (इपिएस – मार्फत रोजगारीका लागि कोरिया आउने १५ मुलुकका हजारौँ जनशक्तिमध्ये साना तथा मझौला उद्योग सञ्चालकको रोजाइमा नेपाली कामदार पर्ने गरेका छन् । मिहेनती र इमानदार भएका कारण नेपालीको माग बढेको कम्पनी सञ्चालक बताउँछन् । ख्यङगिदो ख्वान्जुका कम्पनी सञ्चालक एनही मुनले नेपाली युवा निरन्तर र नियमित काम गर्ने र आफूहरूलाई यस्तै लगनशील र अनुशासित जनशक्तिको खाँचो रहेको बताए । फलामको रसायनद्वारा विभिन्न सामग्री निर्माण गर्ने उनको कम्पनीमा हाल आठ नेपाली कामदार कार्यरत छन् । आगामी मार्चमा पुन: दुईजना नेपाली कामदार माग गरेको उनले बताए ।

केही समय पहिला ख्यङगिदो इन्छनमा अवस्थित ग्रिन केमिकल कम्पनीमा कार्यरत खोटाङका राजकुमार राई, इलामका निर्मल भटराई र केशव चापागाईं पुरस्कृत भए । उनीहरू इमानदार र मेहनती भएका कारण पुरस्कृत भएको कम्पनीले जनाएको छ ।
सन् २०१३ का लागि निर्धारण गरेको ६२ हजारमध्ये हाल ४६ हजार कोटामा निवेदन दिन श्रम मन्त्रालयले उद्योग सञ्चालकलाई आह्वान गरेको छ । रोजगारदाताले जनवरी १४ देखि २५ गतेसम्म आप्रवासी कामदार माग गर्न पाउँछन् । जसमा ३७ हजार सात सय उत्पादनमूलक क्षेत्र, ४ हजार ६ सय कृषि तथा पशुपालन, २ हजार १ सय ५० मस्त्यपालन, ५ सय ६० निर्माण र ९० जना सेवाक्षेत्रका लागि छुट्याएको छ । यसमध्ये निर्माण र मस्त्यपालन क्षेत्रमा नेपालीहरू पर्दैनन् ।
गिर्दो अर्थतन्त्रका कारण कोरियन युवा बेरोजगारीको संख्या दिन प्रतिदिन बढ्दै गए पनि विदेशी जनशक्तिको माग बढिरहेको छ । हालै प्रकाशित श्रम बजारको एक तथ्यांकअनुसार गत वर्ष करिब ४० लाख जनसंख्या बेरोजगार रह्यो । सन् २०११ को दाँजोमा यो तथ्यांक केही प्रतिशतले बढेको दि कोरिया हेराल्डले जनाएको छ ।
सरकारले सन् २०१३ मा आप्रवासी कामदारका लागि कुल ६२ हजार कोटा निर्धारण गरेको छ । त्यसैगरी, २०१४ का लागि २०१३ को जुलाईमा पुन: भाषापरीक्षा खुल्ने तयारी भएको इपिएस कोरियाले जनाएको छ । यहाँस्थित अधिकांश उद्योगको छनोटमा नेपाली, भियतनामी र कम्बोडियन कामदार पर्ने गरेको इपिएसको तथ्यांकमा उल्लेख छ ।
त्यसो त अघिल्लो वर्षको तुलनामा यस वर्ष पाँच हजार कामदार थप गरेको छ । यो योजनामा यसै वर्ष फेबु्रवरीदेखि कामदार भित्र्याउने प्रक्रिया बढाइने मन्त्रालयले जनाएको छ । यस वर्ष प्रवासी कामदार नियुक्ति गर्ने उद्योगले सरकारबाट आर्थिक सहयोग पाउने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

No comments:

Post a Comment