Friday, January 11, 2013

सिपाहीद्धारा तीन दिनसम्म युवतीलाई गेस्टहाउसमा थुनेर बलात्कार

सिपाहीद्धारा तीन दिनसम्म युवतीलाई गेस्टहाउसमा थुनेर बलात्कार
बिहे गर्ने प्रलोभनमा पारेर बहालवाला एक सिपाहीले एक युवतीको पटकपटक बलात्कार गरेका छन् । सैनिक मुख्यालयमा कार्यरत सिपाही सुदर्शन थापाले ताप्लेजुङ घर भएकी एक युवतीलाई तीन दिनसम्म गेस्टहाउसमा थुनेर बलात्कार गरेका हुन् । सिपाही थापालाई प्रहरीले पक्राउ गरी जबर्जस्ती करणी मुद्दा चलाएको छ ।

ताप्लेजुङबाट बिहे गर्ने भन्दै काठमाडौंमा बोलाई सिपाही थापाले कोटेश्वरस्थित गेस्टहाउसमा राखेर बलात्कार गरेका हुन् । दोलखाको चरिखर्क घर भई सेनाको प्राविधिक सेवामा कार्यरत उनी निलम्बनमा परिसकेका छन् । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले थापालाई पक्राउ गरी मुद्दा दायर गरेको हो ।

प्रहरीका अनुसार बिहे गर्न भनेर थापाले १७ वषर्ीया ती युवतीलाई ताप्लेजुङबाट काठमाडौं बोलाएका थिए । काठमाडौंको कोटेश्वरस्थित ताप्लेजुङ सामसुङहाङ लजमा राखेर बलात्कार गरेको पीडित युवतीको उजुरी छ ।

युवती गत ६ पुसमा काठमाडौं आएकी थिइन् । सो दिन थापा उनलाई लिन कलंकी गएका थिए । कलंकीबाट लिएर कोटेश्वरस्थित गेस्टहाउसमा लगी जबर्जस्ती शारीरिक सम्पर्क राखेको पीडित युवतीको आरोप छ । आफ्नो मोबाइलसमेत लिएको र बाहिरसमेत जान नदिएर बलात्कार गरेको युवतीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । त्यसबारे कसैलाई भने मार्नेसम्मको धम्की थापाले दिएका थिए ।

२९ वषर्ीय थापा विवाहित हुन् । उनका बालबच्चासमेत छन् । शारीरिक सम्बन्धकै लागि युवतीलाई बिहेको आश्वासन दिई काठमाडौं बोलाएर जबर्जस्ती यौनसम्पर्क राखेको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

बानेश्वर वृत्तका अनुसार तीन दिनसम्म युवतीसँग बसेपछि गत पुस ९ गते थापाले शारीरिक सम्पर्क राखेको कुरा कसैलाई नभन्न चेतावनी दिँदै ताप्लेजुङ जाने बसको टिकट काटिदिएका थिए । तर, बिहेको आसमा काठमाडौं आएकी युवतीले ताप्लेजुङ नगई आफन्तको सहयोगमा प्रहरीमा खबर गरेकी थिइन् । तत्कालै प्रहरीले थापालाई लजबाटै पक्राउ गरेको थियो ।

बिहेअघि आफूले शारीरिक सम्पर्क नराख्ने बताउँदा पनि सिपाही थापाले जबर्जस्ती करणी गरेको पीडित युवतीको भनाइ छ । युवतीको शारीरिक परीक्षण भइसकेको र रिपोर्ट आउन बाँकी रहेको बानेश्वर वृत्तका डिएसपी भीमप्रसाद ढकालले बताए ।

हालसम्मको प्रहरी अनुसन्धानमा बलात्कार पुष्टि भइसकेको छ । सिपाही थापाले कसैलाई नभन्नु भनेर धम्क्याउनुले पनि बलात्कार गरेको प्रस्ट हुन्छ । अभियुक्त थापाले भने सहमतिमै यौनसम्पर्क राखेको दाबी गरेका छन् । प्रहरीले नै मुद्दा चलाए पनि हाल उनी सैनिक हिरासतमा छन् ।

प्रहरीका अनुसार एक साथीमार्फत पीडित युवती र सिपाही थापाबीच चिनजान भएको थियो । उनीहरूबीच नियमित रूपमा फोनमा कुरा भइरहने र बिहे गर्ने सहमतिसमेत भएको थियो । युवती बिहे गर्न तयार भए पनि सिपाहीको स्वार्थ भने शारीरिक सम्पर्कबाहेक केही नभएको प्रहरी अधिकारीहरू बताउँछन् ।

बलात्कारविरुद्ध अधिकारकर्मीहरूले आन्दोलन नै गरिरहेका वेला अर्को बलात्कारको घटना बाहिर आएको हो । साउदीबाट फर्किएकी युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरी जवान पर्शुराम बस्नेत गत २ पुसमा पक्राउ परेका थिए । अध्यागमन विभागमा थुनामा परेकी भोजपुरकी एक युवतीलाई पैसा लुटेर बस्नेतले बलात्कार गरेका थिए । बस्नेत जेल चलान भइसकेका छन् ।

कानुनका संरक्षक मानिने सुरक्षाकर्मी नै यसरी बलात्कारका घटनामा एकपछि अर्को गर्दै संलग्न हुनुले कानुनी शासनमा थप चुनौती थपिएको अधिकारकर्मीको भनाइ छ । भारतमा समेत बलात्कारका घटना नियन्त्रण र दोषीलाई कडा कारबाहीको माग राख्दै चर्काे आन्दोलन र बहस भइरहेको छ ।

No comments:

Post a Comment