Friday, July 5, 2013

एयर होस्टेजले मन्त्रीसँग भने, ‘अब त अति भयो’

एयर होस्टेजले मन्त्रीसँग भने, ‘अब त अति भयो’

काठमाडौं, असार २१ – विमान परिचारिकाहरू भेदभाव गर्न खोजेको भन्दै विरोधमा उत्रिएपछि नेपाल वायुसेवा निगमले प्रस्ताव गरेको विमान चालक र परिचारिकाको भत्ता वृद्धिको निर्णय विवादमा परेको छ ।
विमान परिचारिकाहरू संगठित भई भत्ता वृद्धिमा विभेद भएको भन्दै विरोधमा उत्रिएका छन् । परिचारिकाको समूहले पर्यटनमन्त्री रामकुमार श्रेष्ठलाई भेटेर भत्ता वृद्धिको अनुपातमा पुनर्विचार गर्न भनिसकेका छन् । तिनले महिला आयोगमा समेत गुनासो गरेका छन् । निगममै विवाद भएपछि सहमतिका लागि अर्थमा पुगेको फाइलमा कारबाही भएको छैन । ‘पर्यटनबाटै निर्णयमा विवाद भएको कुरा आएको छ,’ अर्थसम्बद्ध स्रोतले भन्यो ।
निगम सञ्चालक समितिको जेठ २२ गतेको बैठकले विमान चालकको उडान भत्ता प्रतिउडान घन्टा १ हजार ५ सय ४० रुपैयाँ वृद्धि गर्दा विमान परिचारिकाको २१ रुपैयाँ मात्र वृद्धि गर्ने निर्णय गरेको थियो । ‘पाइलटको जत्तिकै वृद्धि हुनुपर्छ भन्ने हाम्रो माग होइन,’ एक वरिष्ठ परिचारिकाले भनिन्, ‘तर वृद्धिको अनुपात त न्यायोचित हुनुपर्‍यो नि ।’ यसअघि पनि विभेद हुँदा चुपचाप बसे पनि यसपटक सहन नसकेको ती परिचारिकाले बताइन् । ‘अति नै भइसक्यो, अब पनि सुनुवाइ नभए आन्दोलनमा उत्रन्छौं,’ अर्की परिचारिकाले भनिन् ।
निगमले प्रत्येकपटक भत्ता वृद्धि गर्दा विमान चालक र परिचारिकाको भत्ताको अन्तर बढ्दै गएको छ । २०५२ सालमा विमान चालकको भत्ता प्रतिउडान घन्टा २ सय ५० हुँदा परिचारिकाले ५० रुपैयाँ पाउँथे । २०६० सालमा विमान चालकको २ हजार ४ सय ६० पुर्‍याउँदा परिचारिकाको भत्ता वृद्धि गर्न आवश्यक ठानिएन । अहिले विमान चालकको भत्ता प्रतिउडान घन्टा ४ हजार पुर्‍याउने प्रस्ताव गर्दा परिचारिकाले १ सय २० रुपैयाँको हाराहारीमा पाउने छन् । ‘१८ वर्षअघि चालक र परिचारिकाबीच भत्ताको अन्तर ५ गुणा थियो,’ परिचारिकाले भनिन्, ‘७ गुणा, २४ गुणा हुँदै पछिल्लो निर्णय कार्यान्वयन भए अन्तर झन्डै ४० गुणा पुग्छ ।’
निगमका महाप्रबन्धक मदन खरेलले कामको लोड र आवश्यकताअनुसार भत्ता वृद्धि गरिएको दाबी गरे । ‘पहिले के भयो मलाई थाहा छैन,’ उनले भने, ‘अहिले परिचारिकाको हकमा पनि सक्ने जति बढाउने प्रयास भएको हो ।’ परिचारिकाको मागलाई गम्भीरतापूर्वक लिइएको बताउँदै सम्बोधन हुँदै जाने उनले बताए ।
यस्तै निगमले २५ वर्षपछि विदेशमा खाना भत्ता वृद्धि गर्ने निर्णय गर्दा पनि अन्याय गरेको परिचारिकाको आरोप छ । निगमले २५ वर्षदेखि दिएको सुविधाअनुसार चालकले प्रतिदिन ४५ अमेरिकी डलर र परिचारिकाले ३८ अमेरिकी डलर पाइरहेका छन् । सञ्चालक समितिले चालकको ९० डलर र परिचारिकाको ४५ डलर पुर्‍याउने निर्णय गरेको छ ।
चालकको खानाभत्ता ४५ डलर बढाइँदा परिचारिकको ७ डलर बढाइएको छ । ‘विदेशमा चालक र परिचारिकाले खाने ठाउँ एउटै हो,’ परिचारिकाले भनिन्, ‘तर निगमले चालकको खाना भत्ता उल्लेख्य वृद्धि हुँदा परिचारिकको वृद्धि गर्न आवश्यक ठानेन ।’स्रोत ©इकान्तिपुर

No comments:

Post a Comment