Friday, March 22, 2013

कोठामा बसेर सेलिब्रिटी भइँदैन’

 ‘कोठामा बसेर सेलिब्रिटी भइँदैन’

आन्दोलनमा तपाईं निकै सक्रिय हुनुहुन्छ त?
हुनु परेन त? करिब एक महिनादेखि जारी यो आन्दोलनमा अमेरिकाबाट फर्कने बित्तिकै म संलग्न छु। आफ्नो क्षेत्रलाई समृद्ध बनाउनु हाम्रो कर्तव्य हो। यसमा कुनै दलगत स्वार्थ मिसिएको छैन। समग्र फिल्म क्षेत्रको हितमा समर्पित छ आन्दोलन। मैले यो आन्दोलनमा अरु धेरै कलाकार साथीको अपेक्षा गरेकी थिएँ। उहाँहरु व्यस्त भएर आउन सक्नुभएन होला। राजेश हमालजी लगायत अन्य चर्चित कलाकारको पनि यसमा समर्थन छ।
तपाईंहरुका मागको खासै सुनुवाई भएको पाइएन। काठमाडौंको चिसोमा आन्दोलनको तापक्रम पुगेन कि?
हामी विवेकशील आन्दोलनको पक्षमा छौं। अराजक हुन जानिएन। तर, सरकारले हाम्रो कुरा नसुनेको देख्दा साह्रै आश्चर्य लागेको छ। बसु दिदी (बसुन्धरा भुसाल) जस्तो वरिष्ठ कलाकार वार्तामा जानुभयो, सञ्चामन्त्रीलाई भेट्नुभयो, आफ्ना मागको अपरिहार्यता बताउनु भयो, खोइ त सुनेको? कलाकारलाई सडकमा आउन बाध्य पारिन्छ, तैपनि कुनै सुनुवाई हुँदैन। कतिसम्म हेपेको सरकारले?
अब कसरी अघि बढ्ने योजना छ त?
पछि हट्ने त कुरै छैन। बढ्ने त अगाडि नै हो। साथीहरु रिले अनसनमा हुनुहुन्छ। म पनि अनसन बस्न खोज्दैछु। पालो आएको छैन। बसु दिदीले चाहिँ एकपटक प्रधानमन्त्रीलाई भेटौं भन्दै हुनुहुन्छ, समय पनि मिलाउनु भएको छ रे। हेरौं उहाँसँगको वार्ताले हामीलाई कस्तो बन्न प्रेरित गर्छ।
१२ वर्षअघि चलचित्र विकास बोर्ड स्थापना गराउन पनि आन्दोलन गर्नुपरेको थियो। अहिले त्यहाँ राजनीति घुस्यो भन्दै आन्दोलनमा हुनुहुन्छ। बोर्ड र आन्दोलन सँधै चल्ने रहेछ, जस्तो लाग्दैन?बोर्ड खुलेको केही समयमै म त्यहाँको सदस्य भएँ। तर, मलाई बोर्डको भूमिका यति साँघुरो लाग्यो कि ‘यसलाई मन्त्रालयकै एउटा कोठामा थन्क्याइदिए हुन्छ’ भनेर हिँडेकी हुँ। जे उद्देश्यका लागि हामीले बोर्ड स्थापना गर्न पहल गरेका थियौं, त्यो एउटा स्वायत्त बोर्डको परिकल्पनासहित भएको थियो। पूर्ण भूमिका प्राप्त नगरिसकेको बोर्डमा पनि राजनीति घुस्यो। जसका कारण हामी सडकमा उत्रिनु परेको छ।
सदस्य भइसक्नु भएको रहेछ, अध्यक्ष हुने मन गरेर आन्दोलनमा आउनु भएको हो कि?
कलाकार भएको नाताले सबै पार्टीप्रति मेरो सम्मान छ। न मलाई अध्यक्ष बन्ने रुचि छ, नत कुनै पार्टीको सदस्यता लिएर अरु कुनै पदमा पुग्ने। कुरा स्पष्ट छ, सरकारले कलाकारलाई हेप्यो, हाम्रा वरिष्ठ दिदीहरुलाई सडकमा आउन बाध्य बनायो। अनि म पनि उहाँहरुलाई पुलिसले लछारपछार परेको दृश्य टिभीमा हेरेर बस्न सकिनँ। यस्तो बेला कोठामा बसेर सेलिब्रेटी भइन्न भन्ने भावना पलाएपछि आन्दोलनमा सहभागी भएँ।
पहिला पनि त बोर्डमा राजनीतिक नियुक्ति भएकै हो। अहिले चाहिँ किन यति विरोध?
परिपाटी बिग्रिएर त सच्याउन आन्दोलित छौं नि। मैले भनेँ नि, विकास बोर्ड खुलेदेखि नै त्यहाँ राजनीति घुसेको छ। यो आन्दोलनमा अध्यक्ष र अन्य पदाधिकारीको मात्र कुरा छैन। हामी स्वायत्त बोर्डको मागमा छौं। बाँकी नौ बुँदे माग पूरा नगराई आन्दोलनबाट हट्दैनौं। कलाकारितामा पनि राजनीति घुसेको होला। त्यसैले कलाकारिता र फिल्मको वर्गीकरण गर्ने कुरा पनि हाम्रो मागमा छ।

No comments:

Post a Comment