Thursday, May 9, 2013

उपचार गराई फर्किएकी युवतीलाई उनकै साथीले बलात्कार



स्याङ्जा, वैशाख २६ – पाल्पाको रामपुरमा उपचार गराई फर्किएकी युवतीमाथि सामूहिक नभई उनकै साथीले बलात्कार प्रयास गरेको खुल्न आएको छ । पीडित युवतीले बुधबार जिल्ला प्रहरीमा जाहेरी दिँदै साथीसँग घर फर्कने क्रममा जंगलमा बलात्कार प्रयास गरेको उल्लेख गरेपछि घटनाले अर्को मोड लिएको हो ।

साँझ परिसकेको र जंगलको बाटो भएकाले छिमेकी चिनजानका साथीलाईर् घरसम्म पुर्‍याइदिन आग्रह गरेपछि ती युवकले सहमति जनाएका थिए । तर बाटामा जबरजस्ती करणी गर्न खोजेको युवतीले जाहेरीमा उल्लेख गरेकी छन् । आफूले जबर्जस्तीको प्रतिकार गर्दा ती युवाले घाँटी थिचेको र लगत्तै अचेत बनेकाले त्यसपछिको अवस्थाबारे केही थाहा नभएको युवतीले बताएकी छन् । युवतीले ती युवकलाई ३ महिनादेखि चिन्दै आएकी थिइन् । यही वैशाख १८ गते साखरस्थित जंगलमा अचेत भेटिएकी युवतीले लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारपछि फर्किएर बुधबार प्रहरीमा किटानी जाहेरी दिएकी हुन् । युवतीको भनाइका आधारमा प्रहरीले साखर ८ का विष्णु खनाललाई गत आइतबारै पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । खनाल अविवाहित हुन् ।

‘जाहेरीका आधारमा हामी अनुसन्धान अगाडि बढाउँछौँ’, प्रहरी नायब उपरीक्षक सोमेन्द्रसिहं राठौरले भने, ‘पाल्पा प्रहरीबाट स्वास्थ्य परीक्षण रिपोर्ट मगाएका छौँ ।’ उनले अनुसन्धानपछि मात्र करणी गर्न खोजेको या करणी गरेको भन्ने थाहा हुने बताए । विवाह गरेर लोग्नेले छाडेपछि माइतीमै बस्दै आएकी १८ वर्षीया युवतीको घाँटी, मुख र आँखामा गहिरो चोट लागेको थियो । युवती अझै पूर्ण निको भइसकेकी छैनन् । प्रहरीले खनालविरुद्ध बुधबार जबर्जस्ती करणीमा मुद्दा दर्ता गरेको छ । यता पीडितका दाजुले घटनाका दोषीलाई कडा कारबाही माग गरेका छन् । स्थानीयवासीले साखरस्थित जंगलमा युवतीलाई अचेत र कपडासमेत च्यातिएको अवस्थामा भेटेका थिए । प्रहरीले घटनालगत्तै अनुसन्धान सुरु गरेको थियो ।स्रोत इकान्तिपुर,

No comments:

Post a Comment