Wednesday, April 3, 2013

चर्चा कमाउँदै एउटा मात्र खुट्टा भएकी नृत्यांगना रोमा न्यौपाने

चर्चा कमाउँदै एउटा मात्र खुट्टा भएकी नृत्यांगना रोमा न्यौपाने २४ बर्ष अघि इटहरीमा जन्मिएकी रोमा न्यौपाने नेपाली नृत्य जगतकी एक चर्चित नृत्यांगना हुन् । नृत्य र अभिनयमा समेत पारंगत रोमाको नृत्यकला आजकलका दिनहरुमा नेपालमा मात्र सिमित छैन । उनको कुशल नृत्यकला हेर्न आजकल नेपाल बाहिरबाट पनि त्यत्तिकै बोलावा आउने गरेको छ । ६ दिदी बहिनी र एक भाईकी काईंली दर्जाकी रोमा आधुनिक नृत्य, लोक नृत्य मात्र नभै शास्त्रीय नृत्यमा पनि त्यत्तिकै पारंगत छिन् । नृत्यांगना रोमा न्यौपानेको नृत्य सबैको लागि त्यत्ति नै प्रशंशनीय र रोमाञ्चक त लाग्छ नै , तर उनी एउटा मात्र खुट्टाले मात्र नाच्ने नृत्यांगना हुन् भन्ने कुरो चाहिँ बिरलैलाई मात्र थाहा होला । ८ बर्षको उमेरमा स्कुल जाने क्रममा दुर्भाग्यवश जीपले किचेर उनको एउटा खुट्टा नै काट्नु परेको अवस्था स्मरण गर्दै भावुक हुँदै भनिन्, “मलाई जीपले किचे पछि १ बर्ष सम्म हस्पिटलमा त बस्नु नै पर्यो , तर मेरो एउटा खुट्टा नै काम नलाग्ने भएर काट्नु परेको कारणले मेरो आधा अंग नै गुमे जस्तो महसुस भएको थियो ।” उनले विगत सम्झिदै घोरिइन् । एउटा खुट्टा नभएपनि सवलांगले जत्तिकै आफुलाई उभ्याउन उनले हरप्रयास गरिन् र उनले नृत्य प्रशीक्षण लिन थालिन् । काठमाण्डौँमा नृत्य प्रशिक्षक केशव सापकोटा संग प्रशिक्षण लिएर मञ्चमा उभिएर नृत्य गर्न थालेपछि भने आफुले देशका हरेक दर्जनौँ कार्यक्रमहरुमा उनको कलाको बारेमा चर्चा परिचर्चा हुन थाल्यो र उनको माग पनि त्यत्तिकै बढ्न थाल्यो । नृत्य प्रदर्शनकै लागि मात्र भनेर उनी भारतमा दर्जनौँ पटक गईसकेको र त्यसको अलावा तेश्रो मुलुकहरु जस्तै कोरिया, इजरायल, मलेशिया, कुवेत लगायतका देशहरुमा पनि उनले आफ्नो नृत्य कला देखाएर आईसकेकी छिन् । खुट्टा सम्म ढाक्ने पहिरन लगाएर स्टेजमा छमछमी नाचेको देखेर रोमालाई कसैले पनि एउटा खुट्टा नभएकी नृत्यांगना हुन् भनेर थाहा पाउन सक्दैनन् । जब उनी आफ्नो नृत्य कला पस्किएपछि बैशाखी टेकेर नेपथ्य तिर लाग्दै गर्दा सबै दर्शकहरु नृत्य देखेर भावविभोर र उनको अपांगता देखेर भावविव्हल हुन पुग्छन् । तर उनी अपांग भएपनि आफुलाई कसैले पनि बिकलांग सम्झिएर दयाको पात्रको रुपमा नहेरीदिन अनुरोध गर्दछिन् । सबलांगमा भए जत्तिकै कला र प्रतिभा म संग पनि भएकोले म सवलांगहरु संगकी प्रतिस्पर्धी हुँ भन्ने ठान्छु , उनले आफुलाई साहस र संघर्षको साथ त्यस स्थान सम्म पुर्याएको उनले बताईन् । नेपाल अधिराज्य भित्र त लाखौँ नेपाली दर्शकहरु माझ आफ्नो नृत्यकला प्रस्तुत गरेर धेरै वाहिवाहि कमाएर परिचित भईसकेकी उनी अब भने तेश्रो मुलुकहरुमा आफ्नो कला प्रवासी नेपाली दाजुभाई माझ देखाउने इच्छा जागेकोले उनी विदेश तिरको कार्यक्रममा जान अति नै इच्छुक भएको बताउँछिन् । आशा गरौँ विदेशमा गएर सबै नेपाली दाजुभाई बीच आफ्नो नृत्यकला देखाउने र अपांग व्यक्तिहरुको लागि केहि अंश रकम छुट्याएर सहयोग पुर्याउने उनको अभिलाषाले सार्थकता पाओस् ।

No comments:

Post a Comment