Monday, December 10, 2012

महामन्त्री छाड्नु गल्ती भयो : मोहन वैद्य

 २५ मंसिर, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य (किरण) ले पञ्चायतकालीन सेक्टरकाण्डका बेला आफूले प्रचण्डलाई महामन्त्री पद जिम्मा लगाउनु ‘उदारवादी’ गल्ती भएको बताउनुभएको छ ।

आगामी पौष २५ मा हुने महाधिवेशनका लागि वैद्यद्वारा तयार पारिएको प्रस्तावित राजनीतिक प्रतिवेदन (मस्यौदा प्रस्ताव)मा उहाँले पञ्चायती चुनाव बहिस्कारका क्रममा भएको सेक्टर सम्बन्धी घटनालाई जुझारु घटनाको संज्ञा दिँदै त्यही घटनाका कारण प्रचण्डलाई नेतृत्व सुम्पनु हँदैनथ्यो भन्ने निश्कर्ष निकाल्नुभएको छ । यसअघिसम्म माओवादीले सेक्टर काण्डलाई गलत मान्दै आएको थियो ।

 नेकपा-माओवादीभित्र छलफलका लागि कार्यकर्तासम्म पुर्‍याइएको दस्तावेजमा भनिएको छ-’पञ्चायती चुनाव बहिस्कार आन्दोलनको प्रक्रियामा सेक्टरसम्बन्धी घटना पनि घट्यो । त्यो जुझारु प्रकारको घटना थियो र त्यसले बहिस्कार आन्दोलनमा राम्रो प्रभाव पनि पार्‍यो ।यसै घटनालाई आधार बनाएर तीन वर्षपछि कामरेड किरण महामन्त्री र कामरेड गौरब (सीपी गजुरेल) तथा मनु (खम्बसिंह कुँवर) पीबीबाट हट्नु ठीक थिएन ।’ अनलाइनखबरलाई प्राप्त उक्त दस्तावेजमा भनिएको छ, ‘त्यसो हुनुमा उदारवादी कमजोरी भएको छ । यसै प्रक्रियामा मूल नेतृत्वमा परिवर्तन गरियो र सो ठाउँमा प्रचण्डलाई ल्याइयो ।’

 पञ्चायतकालीन पछिल्लो निर्वाचनका बेला राजधानीको इन्द्रचौकलगायतका स्थानमा केही प्रहरी बिटमा पार्टी कार्यकर्ताले आक्रमण गरेका थिए । यो घटनापछि पार्टीमाथि सरकारका तर्फबाट ब्यापक धरपकड भएको थियो । माओवादीमा यो घटनालाई सेक्टर काण्डका रुपमा चिनिन्छ । यही सेक्टर काण्डपछि पार्टीले गल्ती गरेको भन्दै सबै नेतालाई एक तह घटुवा गरिएको थियो र यही क्रममा मोहन वैद्य महामन्त्रीबाट घटुवामा परेका थिए । त्यसबेला वैद्यकै प्रस्तावमा प्रचण्डलाई महामन्त्री बनाइएको थियो भने सीपी गजुरेल पोलिटब्यूरोबाट तल झरेका थिए । त्यसबेला प्रचण्डको ठाउँमा गजुरेलले महामन्त्रीको दाबी गरेको पनि केही नेताहरुले बताउने गरेका छन् । वैद्यको दस्तावेजमा जनयुद्धका बेला बादललाई लिनप्ओवादी आरोप लगाउनुका पछाडि प्रचण्डको स्वार्थले काम गरेको बताइएको छ । साथै भारतमा भएको वैद्य, गजुरेल र पटना गिरफ्तारीमा आन्तरिक षड्यन्त्रले समेत काम गरेको भन्दै त्यसमाथि अनुसन्धान गर्नुपर्ने उल्लेख छ ।

प्रचण्ड र बाबुरामको मूल्यांकन

 वैद्यले आफ्नो दस्तावेजमा एकीकृत माओवादी पार्टीलाई नवशंसोधनवादीको संज्ञा दिँदै भनेका छन्-’नवसंशोधनवादी समूहका प्रमुख पात्र प्रचण्ड र बाबुराम हुन् ।’इतिहासको एक निश्चित कालखण्ड र जनयुद्धको एक निश्चित अवधिमा प्रचण्डबाट सकारात्मक भूमिका निर्वाह गरिए पनि जनयुद्धकै अर्को एक निश्चित कालखण्डमा उनमा अवसरवादी तथा अभिजातवर्गीय चिन्तन प्रवल बन्दै गयो ।’ दस्तावेजमा प्रचण्डभित्र वर्गसमन्वयवादी दृष्टिकोण रहेको आरोपसमेत लगाइएको छ ।

 त्यसैगरी बाबुराम भट्टराईको मूल्यांकन गर्दै भनिएको छ-’इतिहासको एक निश्चित कालखण्डमा बाबुरामद्वारा पनि क्रान्ति र पार्टीप्रति सकारात्मक भूमिका निर्वाह गरिएको थियो । परन्तु पछिल्लो समयमा उनमा गम्भीर प्रकारका विचलन पैदा भएका छन् ।’

 अर्धऔपनिवेशिक भन्न छाडियो

 माओवादीले हालसम्म नेपालको अवस्था अर्धसामन्ती- अर्धऔपनिवेशिक रहेको बताउँदै आएकोमा वैद्यले आफ्नो दस्तावेजमा ‘अर्धऔपनिवेशिक’ पदावलि हटाएका छन् । सो पदावलिका ठाउँमा ‘नवऔपनिवेशिक’ पदावलि प्रयोग गरिएको छ । यो पदावली भाकपा माले र जर्मनीको कम्युनिष्ट पार्टीले प्रयोग गर्दै आएको छ । भाकपा माओवादीले भने नवऔपनिवेशिक पदावलि प्रयोग नगरेर ‘अर्धऔपनिवेशिक’ पदावलि प्रयोग गर्दै आएको छ ।

 नेपालका राष्ट्रिय स्वाधीनताको प्रश्न महत्वपूर्ण रहेको बताउँदै आएको माओवादीले ‘अर्ध-औपनिवेशिक’ पदावलि छाडे पनि ‘भारतीय विस्तारवाद’ भन्ने पदावलि यथावत राखेको छ ।

No comments:

Post a Comment