Friday, March 22, 2013

पैसा कमाउन विदेश गएको छोरा फर्किदा छोरी भएपछी

 पैसा कमाउन विदेश गएको छोरा फर्किदा छोरी भएपछी

महोत्तरीको हात्तीलेट-९ का शुक्रबहादुर आलेको परिवार विदेश कमाउन गएको छोरा लिङ्ग परिवर्तन गरी छोरी भएर फर्केपछि आश्चर्यमा परेका छन । घरको गरिबीले दिक्क भएर १० वर्षअघि १५ वर्षको उमेरमा भारत पसेको छोरा वुद्घबहादुर आले भर्खरै छोरी भएर बबली नाउँ राखेर र्फकदा आले परिवार आश्चर्यमा परेको हो । शुक्रबहादुर र चिजमाया आलेका तीनवटी छोरीपछिको रहरको छोराले लिङ्ग परिवर्तन गरी छोरी बनेर घर र्फकदा अनौठोसँगै विस्मात पनि लागेको आले परिवारले बताएका छन् । सन्तानको आफ्नै रहरको निर्णय भएकाले उसको निर्णयमा चित्त बुझाएर खुसी हुनुपरेको आमा चिजमाया आलेको भनाइ छ । वुद्घ छोरा भएर जन्मेपनि सानैदेखि छोरीजस्तै आनीबानी भएको र साथी पनि केटीलाई नै बनाउने गरेको आले दम्पतीको पुरानो स्मृति छ । सानोमा कतिपयले मोङ्मेहरा (आइमाइजस्तो) भनेर जिस्क्याउँदा उ दिक्क मान्ने गरेको बाबु शुक्रले वुद्घको वाल्यकाल सम्झदै बताएका छन् । अहिले १० वर्षपछि लिङ्ग परिवर्तन गरेर फागुपर्व मनाउन घर आएकी बबली -वुद्घ)ले आफ्नो शरीरमा पुरुष जनेन्द्रीय भए पनि आफू सधैँ केटी रहेको बोध हुने गरेकाले विज्ञानले दिएको सुविधाअनुसार लिङ्ग परिवर्तन गरेको बताएकी छिन् । भारतको मुम्बईमा काममा रहँदा त्यहाँका साहुले लिङ्ग परिवर्तन गर्न सल्लाह, सुझाव र सहयोग जुटाई दिएपछि चार वर्षपहिले आफ्नो स्वभावअनुसारको लिङ्ग फेर्न पाएपछि खुसी लागेको बबलीको भनाइ छ । नाच्ने, गाउने कुरामा निक्कै रमाउने बबली यस्तो काम आफ्नै देशमा पाए विदेश नजाने बताउँछिन् । भारतमा हुँदा एकदुईजना युवाको प्रेमजालमा परेको बताउने बबलीले तत्काल बिहेबारीको योजना नरहेको स्पष्ट पारेकी छन् । उमेरमा आफूप्रति युवाहरु लठ्ठिनुलाई आफ्नो रुप, यौवन र सौन्दर्यको करामत ठान्ने बबलीले रोजाइको जीवनसाथी नेपाली नै बनाउन चाहेको बताएकी छन् । रासस

No comments:

Post a Comment