Tuesday, March 19, 2013
‘अर्काको वास्ता नगर्नेहरु बस्ने ठाम रै’च यो सहर’
‘अर्काको वास्ता नगर्नेहरु बस्ने ठाम रै’च यो सहर’
गोरखाकी आमैलाई गाँवै रमाइलो
६ चैत, काठमाडौं । राजधानीमा जागिरे छोरा-बुहारीले बोलाएपछि आफ्नो नाम नबताउने आमै महिना दिनअघि पृथ्वीनारायण शाहको गृहजिल्लाबाट काठमाडौं आउनुभएको छ । ‘घरमा कोही छैनन्, भएको एउटा छोरो काठमाडौंमै छ’ आमैले भन्नुभयो-’यतै आउनुहोस् आमा नातिनातिना हेर्न पनि हुन्छ भनेर बोलाएकाले आएकी हुँ ।’ बिहान नातिनातिनालाई स्कूल पुर्याउने र बेलुका स्कूलबाट ल्याउनेबाहेक आमैको अरु काम छैन ।1
त्यसैले उहाँ दिनभरि शहरको रमिता हेरेर समय कटाउनुहुन्छ । तर, उहाँलाई यो शहर पटक्कै मन परेको छैन । ‘योभन्दा त हाम्रै गाउँ रमाइलो’ आमैले भन्नुभयो-’उतातिर जता हिँडे पनि आनन्द, यहाँ त गाडी, मान्छे, ठेलम्ठेल, आफ्नोभन्दा अरु कसैको वास्ता नगर्नेहरु मात्रै बस्ने ठाउँ रैछ यो काठमाडौं शहर ।’
नाउँ र गाउँ नै थाहा छैन
गोरखा घर बताउने यी आमैलाई आफ्नो नाउँ, उमेर र गाउँ केही पनि थाहा छैन । ‘कसैले दिदी भन्छन्, कसैले बहिनी भन्छन्, आमा, काकी पनि भनेर बोलाउँछन्, आफ्नो नाउँ त थाहा छैन’ आमैले भन्नुभयो- ‘पढे लेखेको भए पो थाहा पाउनु । कति वर्ष भएँ नि पत्तो छैन ।’ गाडीबाट गोरखा बजार झरेपछि दुईघण्टापछि आफ्नो गाउँ पुग्ने आमैले बताउनुभयो ।
आफ्नो मात्र होइन, सँगै रहेकी नातिनीको समेत आमैलाई नाम याद छैन । ‘छोरा-बुहारी यतै जागिरे छन्, यसलाई यहीँ पाएका हुन्, खै के पो नाम राखेका छन् कुन्नि’ आमैले टाउको कन्याउनुभयो ।
खै बाउराम मन्त्री भए भन्थे
गोरखा घर भएपछि त यसअघिका प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई चिन्नुहन्छ होला नि भन्ने हाम्रो प्रश्नमा आमैले भन्नुभयो- ‘खै मन्त्री भए भन्थे, तर उसलाई म त्यति साह्रो चिन्दिँन । मेरो आफन्ती, नातागोता केही पर्दैन, कसरी चिन्नु ?’ आमैले भन्नुभयो । जीवनभर खेतीपातीबाहेक अरुथोक जान्ने मौका नपाएकी यी आमालाई राजनीतिप्रति पटक्कै रुची छैन । ‘
खै अलि वर्षअघि राजा हटाए रे भन्ने सुनेको हो, त्यसपछि के भएको छ पत्तो छैन मलाई’ आमैले भन्नुभयो- ‘यस्ता जाबा कुरा थाहा पाएर पो के हुन्छ र, दुःख नगरी खान पाइन्न, उनीहरुले ल्याएर खान दिने होइनन् ।’
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment