Wednesday, July 3, 2013

जिया आत्महत्याः सुरज जेलबाट छुटे

जिया आत्महत्याः सुरज जेलबाट छुटे बलिउड अभिनेत्री जिया खानको आत्महत्या प्रकरणमा मुछिएपछि हिरासतमा रहिरहेका बलिउड अभिनेता आदित्य पंचोलीका छोरा सुरज पंचोली जेलबाट रिहा भएका छन् । मुम्बइको उच्च अदालतले जियाका प्रेमी सुरजलाई सोमबार ५० हजार भारु धरौटीमा जमानत दिएपछि उनी मंगलबार जेलबाट रिहा भएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनी मंगलबार स्थानीय समय अनुसार करिब साँझ ५ बजे मुम्बईस्थित आर्थर रोड जेलबाट रिहा भएका जनाइएको छ । २० दिन प्रहरी हिरासतमा बसेर सुरज मंगलबार रिहा भएका हुन् । यद्यपी सुरजको पासपोर्ट अदालतले जफत गरेको छ भने उनलाई हरेक दुई दिनमा एक पटक जूहू प्रहरी चौकीमा उपस्थित हुन निर्देशन दिइएको जनाइएको छ । यसअघि सुरजले स्थानीय अदालतमा जमानतका लागि गरेको अपील खारेज भएको थियो । त्यसपछि यसका विरुद्ध सुरजका वकिलले मुम्बईको उच्च अदालतमा अपील गरेका थिए । २२ वर्षीय सुरजलाई गत जुन १० तारिखका दिन जियालाई आत्महत्या गर्न उक्साएको आरोपमा मुम्बई प्रहरीले गिरफ्तार गरेको थियो । जुन ३ तारिखका दिन जियाले मुम्बईस्थित आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी थिइन् । त्यसपछि जियाकी आमा राबिया खानले आत्महत्याको कारण सुरजसँगको प्रेम सम्बन्ध र सुरजले गर्ने गरेको शारीरिक तथा मानसिक उत्पीडन भएको दाबी गरेकी थिइन् । त्यस्तै जियाको आत्महत्याको ५ दिनपछि जियाको ‘सुसाईड नोट’ भनिएको पत्र प्रहरीको हातमा परेको थियो । जसमा आत्महत्याको ‘दोषी’ सुरजलाई नै ठह-याइएको छ । तर, उक्त पत्रको आधिकारिकता भने प्रहरीले अझैसम्म पनि पुष्टी गर्न नसकेको बीबीसीले जनाएको छ । अर्कोतर्फ सुरजका परिवारले भने सुरजमाथि लाग्दै आएको आरोपको खण्डन गर्दै आएका छन् ।

No comments:

Post a Comment