Friday, July 5, 2013

कसरी आयो झरनालाई ७१ हजार भोट ? पारस खड्का झरनाको प्रतिस्पर्धामै आएनन्

कसरी आयो झरनालाई ७१ हजार भोट ? पारस खड्का झरनाको प्रतिस्पर्धामै आएनन्
कसरी आयो झरनालाई ७१ हजार भोट ? पारस खड्का झरनाको प्रतिस्पर्धामै आएनन्

पल्सर स्पोर्टस् अवार्डको दशौँ संस्करणमा पपुलर प्लेयर अफ दी इयरको अवार्ड जितेर झरना गुरुङले धेरैलाई चकित पारिन् । उनलाई सो अवार्ड दिलाउन ७१ हजार आठ सय ६ भोट परेका थिए, जुन उनको मुख्य प्रतिस्पर्धीभन्दा ५७ हजारले बढी हो । यस स्पर्धाका सबैभन्दा बलिया दाबेदार मानिएका पारस खड्का झरनाको प्रतिस्पर्धामै आएनन् ।
झरनालाई आएको भोटको अर्कै कथा छ । आयोजक खेलकुद पत्रकार मञ्चले पपुलर प्लेयर अफ दी इयरबाहेकको अन्य विधामा विजेता आफँै छनोट गर्छ । तर, पपुलर खेलाडी (विजेता) छनोट एसएमएस भोटिङ र ‘फेसबुक लाइक’बाट हुने गरेको छ । यस प्रतिस्पर्धामा झरनालाई विजेता बनाउन उनको गृहजिल्ला कास्कीका प्रशंसकले ठूलै परिश्रम र पैसा लगानी गरेका थिए ।
भोटिङको मामलामा पोखरेली यसै पनि अगाडि छन् । झरनाले यसपटक फेसबुक लाइक र एसएमएसमार्फत ७१ हजारभन्दा बढी भोट ल्याएर चर्चित खेलाडी घोषित हुने तेस्री पोखरेली बनिन् । यसअघि भलिबलका दुई पोखरेली सुन्दरी मञ्जु गुरुङ र सिपोरा गुरुङलाई पनि पोखरेलीले अपार साथ दिँदै सर्वाधिक मतले जिताएका थिए ।
मञ्जु र सिपोराको तुलनामा झरनाको भोटिङ केही कम देखियो । तर, यस विधाका अन्य खेलाडीलाई झरनाले निकै पछि छाडिन् । युवा पौडीबाज शिरीष गुरुङ १४ हजारभन्दा केही बढी भोट प्राप्त गर्दै दोस्रो स्थानमा रहे । यस्तै, एथलेटिक्सकी केशरी चौधरी १० हजार मतका साथ तेस्रो बनिन् ।
घरेलु खेलकुदमा पछिल्लो समय क्रिकेटको क्रेज निकै बढेको छ । साथै, फुटबलको क्रेज पनि उत्तिकै छ । तर, पपुलर प्लेयर अफ दी इयरका लागि मनोनयनमा परेका क्रिकेट र फुटबलका दुई खेलाडी ‘सिन’मै देखिएनन् । सो उपाधिका मुख्य दाबेदार मानिएका थिए, क्रिकेटका कप्तान पारस खड्का । पछिल्लो समय क्रिकेटमा लगातार नेपाललाई दिलाएको सफलता र व्यक्तिगत प्रदर्शनका कारण उनी खेलप्रेमीमाझ बढ्दो रूपमा लोकप्रिय बनिरहेका छन् । तर, प्रशंसकले उनलाई भोट दिन भने कन्जुस्याइँ गरे ।
आयोजक मञ्चले भोटिङका दुईवटा आधार तय गरेका थिए, फेसबुक लाइक र एसएमएस भोटिङ । मञ्चले चारवटा फेसबुक लाइकबराबर एक भोट गणना गरेको थियो । जसअनुसार झरनाले फेसबुकमा कुल सात सय ७३ लाइक पाएकी छिन् । यसबाट उनले एक सय ९३ भोट प्राप्त गरिन् । त्यसबाहेक ७१ हजारभन्दा बढी भोट उनलाई एसएमएसमार्फत आएको छ । मोबाइलको एक एसएमएस भोटिङका लागि भ्याटसहित ३ रुपैयाँ ५० पैसा काटिएको थियो । त्यसबापत झरनाले पाएको भोटलाई साढे दुई लाख लगानी परेको छ । अधिकांस भोट पोखराबाट आएको बताइन्छ ।
झरना स्वयंले आफूलाई विजयी बनाउन
पोखरेलीको ठूलो हात रहेको बताएकी छन् । ‘मलाई यो सफलतासम्म पुर्‍याउन प्रशिक्षकहरूको निकै ठूलो भूमिका छ, तर यो अवार्ड जिताउन पोखरेलीहरूले पनि योगदान छ,’ उनले भनिन्, ‘उहाँहरूकै पहलमा यो अवार्ड जित्न सफल भएँ, यो अभियानमा साथ दिनुहुने सबैलाई धन्यवाद दिन चाहन्छु ।’
अवार्ड थाप्न आफ्नै गुरुङ पहिरनमा सजिएर उपस्थित भएकी झरनाले पोखरेलीको खुलेरै तारिफ गरेकी थिइन् । ‘म एक पोखरेली चेली भएको नाताले उहाँहरूले मलाई निकै सहयोग गर्नुभयो,’ उनले भनिन् ।
पोखरेलीहरू सहयोग समिति नै बनाएर आर्थिक संकलन गरी झरनालाई जिताउन लागिपरेका थिए । समिति संयोजक खगेन्द्र गौचनले नयाँ पत्रिकासँग भने, ‘हामीले झरनालाई जिताउन निकै पहल गर्‍र्यौं, सहयोग समितिले कास्की जिल्लाको प्रत्येक गाउँ र वडामा पुगेर भोटिङका लागि अभियान चलायौँ, हाम्रो पहल सफल पनि भएको छ ।’ उनका अनुसार सहयोग समितिले कास्की जिल्लाको प्रत्येक गाउँ र वडामा पुगेर झरनालाई भोट गर्न आह्वान गरेको थियो ।
त्यसका लागि सहयोग समितिले सबै राजनीतिक दलका स्थानीय भ्रातृसंगठनलाई समेत परिचालन गरेको थियो । ‘हामीले गाउँ–गाउँमा भोट माग्न राजनीतिक दलका सबै भ्रातृसंगठनलाई परिचालन गर्‍र्यौं, भोट हाल्न सबैलाई अनुरोध गर्‍र्यांै,’ उनले भने, ‘उहाँहरूले पनि सहयोग गरिदिनुभयो ।’
संयोजक शेरचनले झरनाका लागि भोट माग्न कुनै पनि कसर बाँकी नराखेको सुनाए । उनले पोखरामा आयोजना हुने कुनै पनि कार्यक्रमका साथै एफएम रेडियोबाट सेमत भोटिङ क्याम्पेन गरिएको जानकारी दिए । ‘जेठमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को महाधिवेशन हँुदा हामीले त्यहाँ गएरसमेत भोट माग्यौँ,’ उनले भने, ‘साथै स्थानीय एफएम रेडियोहरूबाट समेत भोटिङका लागि अपिल गर्‍यौँ ।’
साथै, पोखराका विभिन्न स्कुल तथा कलेजमा पुगेर उनका लागि भोट मागिएको थियो । यस्तै, विदेशमा बसेकाहरूलाई फेसबुकमा लाइक गरिदिन आह्वान गरिएको थियो । शेरचनले भने, ‘हामीले पोखराका कलेज र स्कुल पनि बाँकी राखेनौँ, सबै ठाउँमा पुगेर भोट माग्याँै । साथै, बेलायत, अमेरिका, हङकङलगायत मुलुकमा रहेका नेपालीलाई फेसबुक लाइकका लागि आह्वान गरेका थियौँ ।’
संयोजक शेरचनले आर्थिक संकलनसमेत गरिएको भए पनि कति रकम उठ्यो भन्ने बताउन चाहेनन् । झरनाका लागि खेलाडी तथा प्रशिक्षक संघ एक्लैले ५० हजार रुपैयाँको भोटिङ गरेको थियो । संघका महासचिव महेश महर्जनले नयाँ पत्रिकासँग भने, ‘संघले निर्णय गरेर नै सहयोगस्वरूप हामीले ५० हजारको भोटिङ गरेका हौँ, साथै व्यक्तिगत रूपमा अन्य केही साथीले पनि सहयोग गर्नुभएको छ ।’ झरना संघकी सदस्य भएकीले उनलाई सहयोग गरेको महर्जनले बताए ।
गुरुङहरूको साझा संस्था तमुछोजधी गुरुङ राष्ट्रिय परिषद्ले समेत भोटिङ क्याम्पेनिङ र रकम संकलन गरेको थियो । उक्त सहयोग समितिकी संयोजक शोभा गुरुङले झरनाका लागि पाँच हजारको भोटिङ गरिएको जानकारी दिइन् । सो समितिले पौडीबाज शिरीष गुरुङका लागि पनि उत्ति नै रकमबराबरको भोटिङ गरेको थियो । पोखराको सहयोग समितिले झरनालाई यही आइतबार पोखरामा नगर परिक्रमाका साथै अभिनन्दनको कार्यक्रमसमेत राखेको छ ।©नयाँ पत्रिकाकाबाट साभार, खेलकुद डेस्क

No comments:

Post a Comment