Tuesday, January 1, 2013

यसरी पनि मर्दा रै’छन् मान्छे !



यसरी पनि मर्दा रै’छन् मान्छे !
परिवार भन्छ- हत्या, अदालत भन्छ-आत्महत्या
१७ पुस, काठमाडौं । यो तस्वीर एकपटक राम्रोसित हेर्नुहोस् । कक्षा कोठाभित्रै ‘झुण्डिएर आत्महत्या’ गरेका भनिएका यी विद्यार्थीको दुबै खुट्टाले भूईं छोएका छन् । खुट्टामा दुबै चप्पलहरु थपक्कै छन् । भारी शरीरलाई राम्रोसित थेग्न नसक्ने सल घाँटीमा बेरिएर सिलिङमा झुण्डिएको छ । आँखामा लगाएको चश्मा नाकको डाँडीमा टक्क अडिएको छ । मृतकको तिघ्रासम्मको उचाइमा रहेका डेस्क र घुँडासम्मको उचाइमा रहेका बेञ्चहरु कोठाभरि छन् । डेस्कमाथि चढेर घाँटीमा सल बाँधेर मुनि हाम्फालेको मान्ने हो भने पनि दुबै खुट्टा जमिनमा थपक्कै टेकिएका छन् । सिलिङमा सल बाँध्न डेस्कमाथि अर्को कुनै साधन खप्ट्याइएको थियो भनौं भने घटनास्थलमा त्यस्तो कुनै साधन देखिँदैन, जसमाथि चढेर विद्यार्थीले सिलिङमा सल बाँधेको थियो ।
भनिन्छ, न्यायका नौ सिङ हुन्छन् । सर्सती हेर्दा आत्महत्या जस्तो नलाग्ने यो अवस्थाको मृत्युलाई कसैले नपत्याए पनि इलाम जिल्ला र पुनरावेदन अदालतले यसलाई आत्महत्या नै ठहर गरिसकेका छन् । अहिले सर्वोच्च अदालतले यसबारे सुनुवाइ गरिरहेको छ । कस्तो अचम्म ! दुबै खुट्टा टेकेर, छेउमा रहेको अग्लो डेस्कमा समेत आड नलागी, चप्पल र चश्मासमेत नखुस्किएको अवस्थामा पनि मानिसले आत्महत्या गर्दो रहेछ ! अदालतले भनेपछि पत्याउनै पर्यो ।
को हुन् यी विद्यार्थी ?
यी विद्यार्थी पाँचथरको याङनाम गाविस घर भई इलामको श्री मन्टेश्वरी बोडिङ स्कूलमा पढ्ने विनम्र खापुङ हुन् । तीन वर्षअघि २०६६ साल फागुन २४ गते बिहान उनलाई यो अवस्थामा कक्षा कोठामा भेटिएको हो । त्यतिबेला छोरालाई बोर्डस गरेर उनका अभिभावक काठमाडौंमा बस्थे ।२४ गते बिहान विद्यार्थीका पिता लेखनाथ खापुङलाई विद्यालयका निर्देशक लोकबहादुर थाम्सुहाङले फोन गरे । त्यो क्षण लेखनाथलाई जीवनकै सबैभन्दा पीडादायी बन्न पुग्यो । फोनमा कुरा सुन्नेबित्तिकै आँखा अगाडिको दृश्य धुमिल भयो । जताततै अँध्यारो भयो । लेखनाथ छाँगाबाट खसेजस्तै भए । बल्लतल्ल सम्हालिएर उनी हतारिँदै काठमाडौंबाट इलाम हानिए, जहाँ कक्षा कोठाभित्र छोराको शव यस्तो अवस्थामा थियो ।
अदालत आत्महत्या भन्छ, परिवार अझै पत्याउँदैन
मृतकका परिवारका अनुसार मृतकको शरीर आंशिक झुण्डिएको, खुट्टामा चप्पल लगाइरहेको, खुट्टाले भूईंमा टेकी घुँडासमेत खुम्चेको, आँखामा लगाइएको चस्माको अवस्था साबुद अवस्थामा थियो । त्यहाँको अवस्था हेर्दा मृतक आफैंले पाशो लगाउन सक्ने स्थिति पनि थिएन । मृतकको उचाइबमोजिम झण्डै ८ फिट उचाइको छतको हुकमा सलको पासो बाँध्न कुनै अग्लो वस्तुको सहारा लिनुपर्ने हुन्छ । तर, कक्षाकोठामा रहेका डेस्क, बेञ्चको उचाई डेढ फिटभन्दा अग्लो थिएन । डेस्कबेञ्चहरु खप्टाइएको अवस्थामा पनि थिएन, नखप्टाई सिलिङमा पासो बाँध्न सकिने अवस्था पनि थिएन ।विनम्रको परिवारसँग कुनै झैझगडा थिएन । ऊ आफू पनि निराश एवं चिन्तित स्वभावको नभएकाले आत्महत्या गर्नुपर्ने कारण नै नभएको परिवारजनको जिकिर छ ।
ज्यान मुद्दाका प्रतिवादी धरौटीमा छुटे
घटनाको प्रकृति हेर्दा आत्महत्या भन्ने नलागेपछि मृतक परिवारले प्रहरी र अदालतको ढोका ढक्ढक्याए । बाबु लेखनाथले शुरुमै जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरी दर्खास्त दर्ता गराए । जाहेरी दरखास्त पश्चात कानुनबमोजिम कर्तव्य ज्यान मुद्दा दर्ता भई जिल्ला अदालत इलाममा पुग्यो । कारबाहीकै अवस्थामा जिल्ला अदालतले थुनछेकको क्रममा विपक्षीहरुलाई धरौटी लिई तारिखमा छाड्ने काम गर्‍यो ।जिल्ला अदालतको यो कार्यको बिरोधमा पीडित लेखनाथ खापुङले २०६७ बैशाख २३ मा पुनरावेदन अदालत इलाममा निवेदन दिए । तत्कालै पुनरावेदन अदालत इलामबाट जिल्ला अदालतको आदेश नमिलेको भन्दै बदर गरी पुनः थुनछेकको आदेश भयो ।
पुनरावेदन अदालतको थुनछेक आदेशपछि जिल्ला अदालतले २०६७ असार १३ गते मुद्दाको अन्तिम फैसला सुनाई प्रतिवादीहरुलाई पूर्णरुपमा सफाइ दियो । त्यसपछि मृतकका परिवारले पुनरावेदन अदालत इलाममा पुनरावेदन गरे । त्यहाँको अदालतले पनि यो घटनालाई आत्महत्या नै सावित गर्‍यो । अहिले मृतकका परिवारले सर्बोच्चमा यो तस्वीरसहित मुद्दा दायर गरेका छन् । यसरी दुईखुट्टा टेकेर आत्महत्या हुन्छ कि हुँदैन भन्ने विश्लेषण गर्ने जिम्मा सर्वोच्चमा आएको छ ।मृतक विनम्रका परिवार र आफन्तले घटनामा विद्यालयका सञ्चालक र होस्टेल ईन्चार्जलाई प्रतिवादी बनाएका छन् । प्रतिवादीहरुकै रेखदेखमा होस्टलमा रहेका विनम्रको घाँटीमा पासोको रुपमा प्रयोग भएको सल होस्टल इञ्चार्ज बुनु राईको भएको मृतक परिवारको जिकिर छ ।
जिल्ला अदालतको ठहर :
पीडित पक्षले हत्या नै भएको किटानी जाहेरी गरे पनि जिल्ला अदालतले आत्महत्या नै भएको ठहर गरेको छ । जिल्ला अदालतको फैसलामा यस्तो उल्लेख छ :
· मृतकको शरीरमा कुनै घाउ चोट रहे भएको भन्ने लाश प्रकृति मुचुल्का, शव परीक्षण प्रतिवेदन र बुझिएका व्यक्तिको मौकाको कागज एवं अदालतमा गरेको वकपत्र समेतबाट नदेखिएकाले मृतकलाई कुटपीट गरी घाँटी थिची मारी झुण्ड्याएको तथ्य पुष्टि नभएको ।
· मृतकको घाँटीमा मृत्युअगावै पासो लागेको भन्ने शव परीक्षण गर्ने चिकित्सकको वकपत्र रहेकाले मृत्युको कारण ज्बलनष्लन भन्ने देखिएको ।
· प्रतिवादीहरुले मृतकलाई मार्नुपर्ने सम्मको कुनै कारण, अवस्था र रिसइवी नदेखिएको ।
· मृतक झुण्डिएको कोठाको ढोकाको छेस्किनीभित्रबाट लागेको अवस्थामा बाहिरबाट बल प्रयोग गर ढोका फोडेको देखिएकाले र मृतकलाई झुण्डाई प्रतिवादीहरु बाहिर निस्केको भन्ने स्थापित हुन नआई कर्तव्य गरी झुण्डाइएको अवस्था पुष्टि हुन नआएको ।
तस्वीर हेर्नेहरु के भन्छन् ?
मृतक विद्यार्थी विनम्रकी आमाले छोराको तस्वीर एमाले अध्यक्ष झलनाथ खनाललाई समेत देखाइसकेकी छन् । खनाल दम्पतिले तस्वीर हेर्नेवित्तिकै ‘यसरी पनि मान्छेले आत्महत्या गर्छ र ? ‘ भन्दै अचम्म मानेको मृतककी आमा बताउँछिन् । त्यसैगरी उनले कानुनविद् मोतीकाजी स्थापितलाई पनि तस्वीर देखाएको र उहाँले पनि यसरी आत्महत्या गरेको विश्वास गर्न नसकिने बताएको मृतककी आमाको कथन छ । अब यो तस्वीरलाई ‘आत्महत्या’ प्रमाणित गर्ने जिम्मेवारी सर्वोच्च अदालतको काँधमा आएको छ ।
पुनरावेदन भन्छ- थुनछेक गर, जिल्ला भन्छ- फुर्सद !
मृतकका पिताले ज्यान मुद्दाका प्रतिवादीलाई तारेखमा छाड्ने र पुनरावेदनले थुनछेक गर्न भन्दा भन्दे अन्तिम फैसला सुनाउने जिल्ला न्यायाधीश उमेशराज पौडेलमाथि छानविन गर्न न्याय परिषद्मा उजुरी दिए पनि प्रतिवादीहरु र न्यायपरिषद् सचिव जीवनहरि अधिकारीवीच राजनीतिक नाता भएकाले न्याय परिषद्ले निवेदनउपर सुनुवाई नगरेको मृतकका परिवारको गुनासो छ । पुनरावेदन अदालतका न्यायाधीशद्वय विष्णुदेव पौडेल र रेवन्तबहादुर कुँवर आदेशले जिल्ला अदालतले ज्यानसम्बनधी अभियोग लागेको मान्छेलाई धरौटीमा छाड्ने जिल्ला अदालत इलामको फैसला ‘नमिलेको देखिन्छ’ भनेको छ

No comments:

Post a Comment