Thursday, January 3, 2013

प्रेमिका त ५ जना मात्रै भए :राजेश हमाल


राजेश हमाल नेपालका एक नंबरका अभिनेता हुन्। उनको जन्म १९६४ जुन ९ तारिखमा पाल्पा जिल्लाको तानसेनमा भएको थियो।”>राजेश हमालले आफ्नो विद्यालय स्तरिय शिक्षा मस्कोबाट र उच्च शिक्षा (एम् ए इङ्गलिस) भारतको पंजाब विश्वविद्यालयबाट पुरा गरेका हुन्। नेपालमा कक्षा ८ सम्म सेन्ट जेभियर स्कूलमा उनले अध्ययन गरेका थिए। सर्वप्रथम १९८५ मा भारतको फेशन नेट मेगेजिनमा र १९८६मा नेपालको काठमाडौंमा र्‍यापमा हिँडेर ग्ल्यामरमा प्रवेश शुरु गरेका थिए। एक सालमा औसतमा १०-१२ वटा सम्म उनले खेल्ने गरेका छन् भने १९९४ मा उनले १६ वटा चलचित्र सम्म गरेका थिए। १७० भन्दा बढि नेपाली र १ पाकिस्तानी चलचित्रमा उनले अभिनय गरेका छन्। आफूले गरेका चलचित्र मध्ये देवता र वसन्ती उनलाई सबैभन्दा मनपर्ने चलचित्रहरू हुन्। उनी नेपाली चलचित्रका महानायक मानिन्छन् ।

युगदेखि युगसम्म, बसन्ती,जीवनदाता,देउता, गोरेटो, द युगदेखि युगसम्म, ढुकढुकि ,अर्जुन,अल्लारे,आफ्न्त,धर्मा(२०१०),खान्दान ,अधिकार
सन्यास,दुलही, हामी तीन भाइ जस्ता दर्जनौ सफल चलचित्रमा काम गरिसकेका नेपाली चलचित्रका सुपरस्टार राजेश हमालसंग देशकै ठुला रंगपत्रकार रामजी ज्ञवालीले नेपाली हेडलाइन्सको लागि गरेको विशेष कुराकानी प्रस्तुत गरिएको छ।
चलचित्र क्षेत्रमा २४ वर्ष लामो समय खर्चिनुभयो, तपाईंको पहिलो चलचित्र र त्यसयता अहिलेसम्मका अनुभूति बताउनुस् न
– रमाइलो अनुभूतिहरू नै भयो । मैले चलचित्र क्षेत्रमा पाइला चाल्दा यतिका लामो समय यात्रा गर्छु भन्न सकिँदैनथ्यो । अन्यौल नै थियो । किनकि त्यतिवेला नेपालमा चलचित्रको निर्माण न्यून हुन्थ्यो । यो चलचित्रको यात्रा कहाँ गएर टुंगिने हो भन्ने थियो। गर्दै जाँदा राम्रै हुँदै गयो । फर्केर हेर्दा मलाई के लाग्छ भने नेपाली चलचित्र क्षेत्रको विकासक्रम र मेरो नेपाली चलचित्र क्षेत्रमा करिअर सँगसँगै निकै राम्रो किसिमले अगाडि बढ्दै गयो । करिअरको साथमा उद्योगको संख्या र थुप्रै कलाकारहरूसँग अनुभवहरू बटुल्ने मौका पाएँ । विशेषगरी मैले यो क्षेत्रमा जति संघर्ष गरेको थिएँ त्यो किसिमले दर्शकहरूले धेरै माया दिनुभएको छ, त्यो मेरो लागि अमूल्य हो ।
कसरी प्रवेश गर्नुभयो अभिनय क्षेत्रमा ?
– मैले यो क्षेत्र चलचित्र युगदेखि युगसम्म मा पहिलोपटक अभिनय गर्नुभन्दा अगाडि अन्यौल थियो । अभिनय क्षेत्रमा आउन चाहन्थें तर कहाँदेखि सुरुवात गरौं भन्ने एउटा ठोस बाटो देखेको थिइन । त्यतिवेला नेपालमा कमै मात्रामा चलचित्र निर्माण हुन्थे । त्यतिवेला वर्षमा एउटा वा धेरै भनेको दुई वटासम्म चलचित्र निर्माण हुन्थे भने चलचित्र निर्माण गर्ने निर्देशक र लगानी गर्ने निर्माताहरू पनि कमै थिए । त्यस कारण कहाँबाट अभिनय क्षेत्रमा प्रवेश गरुँ भन्ने थियो । तर त्यो अन्योल मेरो आफन्तले नै पार गरिदिनुभयो । दीपक रायमाझी मेरो मामा पर्नुहुन्छ । उहाँ निर्देशन क्षेत्रमा राम्रो अध्ययन गरेर रुसबाट फर्किनुभएको रहेछ । उहाँले चलचित्र बनाउने जमर्को गर्नुभएको थियो र म पनि इच्छुक भएकाले उहाँले मलाई नै प्रस्ताव राख्नुभयो । त्यसरी मेरो चलचित्रको यात्रा सुरु भएको हो ।
उमेरले परिपक्व हुनुभएको छ, अब त विश्राम लिने बेला भएन र ?
– विश्राम भनेको त जीवन सकिएपछि मात्रै लिने कुरा हो । जबसम्म जीवन रहन्छ तबसम्म विश्राम हुँदैन, खासमा स्वास्थ्यले साथ दिएसम्म । चलचित्र क्षेत्रमा अझै धेरै कुराहरू गर्न बाँकी रहेको र अपेक्षा पनि उत्तिकै भएकाले चाँडै विश्राम चाहिँ लिँदैन होला ।
तपार्इंको यात्रा निर्देशन क्षेत्रतिर जाने कुरा पनि चर्चामा आएका हुन् नि ?
– निर्देशनमा जाने त मेरो एकदमै इच्छा छ । तर निर्देशनका लागि मात्रै निर्देशन गर्ने हैन कि मैले निर्देशन गरें भने राम्रै विषयवस्तुमा र राम्रो प्रस्तुति गरेर गरौं भन्ने मेरो जमर्को छ । त्यसकारण पूर्णरूपमा गृहकार्य नभइकन त्यत्तिकै निर्देशन क्षेत्रमा हात राख्दिन । किनकि खेलिरहेका चलचित्रहरू जस्तै चलचित्र गरिरहने हो भने आफै किन निर्देशन गर्ने रु आफूले निर्देशन गर्दा केही नौलो कुरा आओस् भन्ने मेरो चाहना छ । त्यसका लागि गृहकार्य भैरहेको छ । मेरो मनसाय चाहिँ सन् २०१३ भित्र निर्देशन क्षेत्रमा जाने हो ।
पछिल्लो राजनीतिक विकासक्रमप्रति तपाईंको भनाइ चाहिँ के छ ?
– सबै नेपालीजस्तो म पनि देशको राजनीतिप्रति एकदमै निराश छु । राजनीतिले गति लिन सकेको छैन । जुन उत्साहजनक उपलब्धी ०६२-०६३ मा हासिल गर्यौं, त्यसपछि जति नेपाली जनता उत्साहित भयौँ, जुन इच्छा, चाहना, म्याण्डेडअनुसार हामीले आफ्नो राजनीतिक नेतृत्वलाई पठायौं त्यो अनुसारको काम बिल्कुलै हुन सकेको छैन । विशेषगरी अहिलेको राजनीतिक गतिरोध देखेर आम सर्वसाधारणजस्तै म पनि निकै निराश छु ।
तपार्इं राजनीतिमा लाग्ने भनेर चर्चा चलेको छ, कत्तिको सम्भव र सुहाउँदो कुरा हो  ?
– हैन, मेरो फाँट भनेको त कलाकारिता नै हो । यसैमा मेरो धेरै समय, ध्यान र विचार खर्चिने गरेको छु । अझ मैले कलाकारिता क्षेत्रमा धेरै गर्न बाँकी नै छ । त्यस कारण अहिले म यसैमा नै केन्द्रित छु । तर आम नागरिकको हिसाबले आफ्नो देशमा भएको राजनीतिक गतिविधिले हरेक क्षेत्रमा असर पारिरहेको हुन्छ । त्यसमा मैले पनि चासो राखेकै हुन्छु तर भविष्यमा राजनीतिमा लाग्दै लाग्दिन भन्न सक्दिन । त्यो भविष्यले बताउने कुरा हो ।
यदि अब देशको खाँचो भो या कसैले सहमतिको सरकार बनाउँदै छौं र तपार्इं यो क्षेत्रमा आउनुस् भन्नुभयो भने अवश्य पनि पछाडि हट्दिन । तर एकदमै राजनीतिक फाँटमा गएर कुनै पार्टी विशेषसँग आबद्ध भैहाल्ने विचार छैन ।
यदि तपार्इं अबको प्रधानमन्त्री हुनुभयो भने के कामलाई प्राथमिकता दिनुहुन्थ्यो होला ?
– हुन त एउटा व्यक्तिले सबै कुरा रातारात परिवर्तन गर्न सक्ने कुरा आउँदैन । अहिलेका राजनीतिज्ञहरू पनि सक्षम र विद्वान् हुनुहँुदैन भन्ने पनि हैन । तर मलाई लाग्छ मूलभूत नेपालको समस्या भनेको चाहिँ गरिबी अर्थात् रोजगारीको समस्या हो, जसलाई केन्द्र विन्दुमा राख्नुपर्छ भने भ्रष्टाचार पनि ठूलो समस्या भएकाले त्यसलाई पनि केन्द्रविन्दुमा राखेर काम अघि बढाउनु पर्छ भन्छु । मलाई लाग्छ अहिलेको प्राथमिकता यसैमा हुनुपर्छ ।
प्रसंग बदलौं, सबैले यही सोध्छन् राजेश हमालको विवाह कहिले ?
– बिहे पनि होला जस्तो छ । यो प्रश्न अब नआउला जस्तो छ । विवाह भन्ने कुरा कस्तो हँदो रहेछ भने हात्ती आयो हात्ती आयो फुस्सा जस्तो । नगर्दासम्म किन गरेन गरेन, गरेपछि केही न केही । विवाह अब चाँडै नै हुन्छ । आफ्नो मन मस्तिष्कमा छ पनि, अब चाँडै उसैसँग विवाह होला ।
तपाईंकी आफ्नी प्रेमिकाको तारिफ गर्नुस् न त..
– आफूले रोजेको प्रेमिकाको तारिफ त म मात्रै हैन हरेक प्रेमीले गरिहाल्छ जस्तो लाग्छ । त्यसमा म पनि अछुत छैन अहिलेसम्मलाई । अगाडिको पाटो के हुन्छ थाहा भएन । उहाँ ठीक हुनुहुन्छ, उहाँ मेरो चरित्रका लागि मिल्दो हुनुहुन्छ । मेरो विचार, बुझाइ र जीवनशैलीसँग मिल्दो हुनुहुन्छ । मलाई सधैं साथ दिनुहुन्छ जस्तो लाग्छ ।
तपार्इंको पहिलो चुम्बन र पहिलो सेक्स अनुभव बताउनुहुन्छ कि ?
– मेरो पहिलो चुम्बनको अनुभव भन्ने हो भने म १३ वर्षको हुँदा ६ कक्षामा पढ्दै गर्दा गरेको थिएँ । म भन्दा दुई कक्षा अगाडि पढ्ने एउटी केटीले त्यत्तिकै खुसीको क्षणमा आएर मुखमा म्वाई खाएकी थिइन् । सेक्स भन्ने कुराको अनुभव त यो उमेर, त्यो उमेर हैन कि मेरो उमेर पुगेपछि भएको थियो । त्यति ढिलो समयसम्म अनुभव नगरिकन बसिन । किस र सेक्स त चाँडै नै भयो ।
रियल लाइफमा धेरै चुम्बन भए कि चलचित्र पर्दामा ?
– मैले त रियल लाइफमा खाएँ । फिल्मको पर्दामा त कमै खाएको छु । अहिले आएर मात्रै कलाकारहरूले चुम्बन खान थालेका हुन् फिल्म क्षेत्रमा ।
प्रेममा चुम्बनको भूमिका कस्तो हुन्छ ?
– प्रेम अभिव्यक्त गर्ने तरिका हो । मान्छेमा एउटा गाढा प्रेम र एक आपसमा स्नेह तथा माया छ भने मान्छेले विभिन्न तरिकाले व्यक्त गर्न सक्छ । चुम्बन पनि त्यस्तै हो, चुम्बन पनि सशक्त माध्यम हो । यसले एक आपसमा गाढा प्रेम र स्नेह भएको कुरालाई दर्शाउँछ ।
प्रेमलाई कसरी परिभाषित गर्नुहुन्छ ?
– प्रेम असाध्यै जटिल विषयवस्तु पनि हो । किनकि यसमा आनन्द छ, दुःख छ र सुख पनि । यसले निकै खुसी दिन पनि सक्छ भने यसैबाट निकै निराश पनि हुन सक्ने अवस्था हुन्छ । प्रेम गर्न चाहेको व्यक्तिसँग प्रेमीहरू हुँदा खुसी भइएला भने छुट्टिनु पर्दा त्यो जस्तो दुःख अरू केही हुँदैन । तर प्रेम राम्रो भएको खण्डमा चाहिँ यसले जीवनलाई पूर्णता दिन्छ । जीवनलाई अझ राम्रोसँग अगाडि बढाउन सकिन्छ र जीवनमा थप ऊर्जा पनि दिन्छ । यदि त्यो प्रेम सही व्यक्तिसँग र स्वच्छ छ भने त्यसले वेग्लै ऊर्जा दिन सक्छ जस्तो लाग्छ ।
मान्छे प्रेममा पागल हुन्छ भन्छन्, त्यो साँचो होला र ?
– मान्छे आफ्नो सम्झाई, विचार र धारणाको नियन्त्रणमा छैन भने विभिन्न कारणले पागल हुन्छ । प्रेम पनि त्यस्तै हो । अघि मैले भनें नि प्राप्ति हुँदा जति खुसी हुन्छ, प्रेम सफल नहुँदा धेरै दुःखी पनि हुन्छ । त्यो दुःखमा आफ्नो भावनालाई सम्हाल्न सकेन र मनस्थितिलाई सम्हाल्न सकेन भने पागल पनि हुन सक्छ । प्रेमलाई प्राप्तिको रूपमा मात्रै नलिऊँ कि साँच्चीकै गाढा प्रेम छ भने कहिलेकाहीं प्रेममा प्राप्ति नहुँदा पनि आफ्नो मनलाई बुझाउन सक्नुपर्छ ।
अहिलेका युवाहरू एकभन्दा धेरै प्रेमिकासँग मस्त हुन्छन्, तपाईंले त्यस्तो गर्नुभएको त छैन ?
– हैन, मैले मेरो जीवनमा एकपटकमा एक प्रेमिकासँग मात्रै मस्त हुन्छु वा समय काटिरहेको हुन्छु । मेरा प्रेमिकाहरू त धेरै भए तर एकैपटक त हुँदै भएन । जीवनमा एकपछि अर्को प्रेमिका त आए तर त्यो सम्बन्ध विवाहमा मात्रै परिणत हुन सकेन । त्यो अर्को कुरा हो । जब जब म कसैसँग सम्बन्ध गाँसिन पुग्छु, मेरो आफ्नो व्यक्तिगत सिद्धान्त के छ भने एकपटकमा एक जनासँग मात्रै सम्बन्ध रहनुपर्छ । कसैले त यो पनि भन्छन् कि एउटा व्यक्तिले एक जनाबाहेक धेरै व्यक्तिसँग पनि प्रेम गर्न सक्छ । कहिले कहिले मान्छेले एक जनाबाहेक धेरैसँग उत्तिकै प्रेम गर्न सक्छ भन्ने धारणा हुन सक्छ तर मलाई चाहिँ लागू हुँदैन । मेरो जहिले पनि सम्बन्ध हुँदा एक व्यक्तिसँग मात्रै सम्बन्ध रहन्थ्यो, त्यसपछि उनीसँग छुटेपछि मात्रै अर्कोसँग हुन्थ्यो ।
अहिलेसम्म कति प्रेमिका भए तपार्इंका, सम्झनुस् न..
– मेरो जीवनमा प्रेमिका भनेर नै राम्रोसँग सम्बन्ध भएका त ५ जनाजति भए । त्यसबाहेक सामान्य त कति भए कति, सम्झनामा आउन सकेन । मैले पनि कलेज जीवन व्यतीत गरें भने यो जीवनसम्म आउँदा विभिन्न देशमा बसेर समय काटियो । त्यो समयमा विपरीत लिङ्गीसँगको दोस्ती त भैहाल्छ नै । तर त्यो दोस्तीलाई कुन गहिराईसम्म लैजाने हो र कुन अर्थ दिने भन्ने कुरा हो । सम्बन्ध चाहिँ धेरैसँग नै भयो । देशबाहिरका महिलाहरूसँग पनि राम्रै सम्बन्ध भयो । म त अर्कै खालको मान्छे, किनकि विगतका सम्बन्धलाई पनि धेरै नै स्थान दिन्छु । त्यो सम्बन्धले पनि मेरो व्यक्तित्व विकास गर्न मद्दत गरेको छ । सही हिसाबले बुझ्ने हो भने महिलाहरूको सम्बन्धले पनि पुरुषको व्यक्तित्वलाई विकास गर्दो रहेछ ।
जीवनमा प्रेमको महत्व कतिसम्म हुन्छ होला ?
– प्रेमविना जीवन गाह्रो छ जस्तो लाग्छ । कुनै न कुनै वस्तुसँग मानिसको स्नेह र लगाव हुन जरुरी हुन्छ । त्यो व्यक्ति नभए पनि वस्तु हुन सक्ला, विचार पनि हुन सक्ला । व्यक्तिसँगको सम्बन्धविना कुनै पनि मान्छे एकदमै बाँच्नै नसक्ने भन्ने पनि हैन । यदि उसले आफ्नो ऊर्जा र विचारलाई त्यस्तै किसिमले लैजान्छ भने उसले अर्कै किसिमले पनि जीवन लैजान सक्छ । तर आम मानिसको जीवनमा प्रेमविना जिन्दगी अधुरो नै छ जस्तो लाग्छ ।
अहिले जुन प्रेमिका हुनुहुन्छ, उहाँसँग कसरी सम्बन्ध गाँसियो ?
– उहाँलाई मैले कुनै भेलामा भेटेको थिएँ अचानक । मलाई पहिलोपटक भेट्दा यो भेटघाटलाई अझ बढाऊँ भन्ने सोंच जाग्यो । प्रपोज भनेर कसैले पनि गरिएन तर अर्को भेटका कुराहरू हुन्थे । आपसी समझदारीमा सम्बन्ध राखौं भन्ने कुरा भएका हुन् । न उहाँले प्रपोज हान्नुभएको हो न मैले नै । सम्बन्धलाई विस्तार गर्दै जाँदा यो स्थानसम्म आउन सफल भइएको हो ।
आफ्नो दाम्पत्य जीवन कस्तो होस् भन्ने कल्पना गर्नुभएको छ ?
– हुन त मान्छेले आफ्नो भविष्य भन्न सक्दैन । तर मेरो आफ्नो दाम्पत्य जीवन चाहिँ शान्तिपूर्ण, आपसी समझदारी, सुखमयमा अगाडि बढोस् भन्ने चाहन्छु ।
थोरै चलचित्रको विषयमा प्रवेश गरौ, पछिल्लो समय जति चलचित्र बनेका छन् ती चलचित्रमा सेक्स र बेडसिनका दृश्य समावेश गरिएको छ, यसलाई कसरी हेर्नुहुन्छ ?
– अवश्य पनि यस्तो भयो भने चलचित्र चल्दैनन् जस्तो लाग्छ । हुन त चुम्बन र वेडसिन हुनुहुँदैन भन्ने कुरा हैन । तर त्यसलाई कसरी प्रस्तुत गरिएको छ, कुन सन्दर्भमा प्रस्तुत गरिएको छ त्यसमा भर पर्छ । खाली चलचित्र चलाउनकै लागि त्यस्ता दृश्य समावेश गरियो भने त्यसले कुनै सार्थकता राख्दैन । तर सशक्त कथावस्तुमा त्यसलाई सही ढंगबाट समावेश गरिएको छ भने त्यसमा कुनै खराबी छैन । चुम्बन भन्ने कुरा आम जीवनमा प्रयोग भैरहने कुरा हो ।
नेपाली सिनेमाको क्षेत्र त डामाडोल भयो नि ?
– डामाडोल भन्दा पनि नेपाली चलचित्र क्षेत्रमा उतारचढाव भैरहेको नै छ । मैले चलचित्र खेलेको २४ वर्षमा पनि नेपाली चलचित्रहरू एकै रफ्तारमा गैरहन्छ भन्ने पनि होइन, विभिन्न उतारचढाव आउँछन् र आइरहेका छन् । नयाँ नयाँ प्रस्तुति र स्वाद दिने क्रममा चाहिँ हामीले आफ्नो परिचय त्यति पक्रिन सकेका छैनौँ । मलाई लाग्छ यो अन्योलताको बाबजुद वेला वेलामा राम्रा चलचित्र पनि आइरहेका छन् ।
अन्त्यमा के भन्नुहुन्छ ?
– समग्र रूपमा म एउटा चलचित्रकर्मी नै हुँ । मैले अझ धेरै कुरा गर्न बाँकी नै छ र गर्न पनि चाहन्छु । जुन स्नेह र माया दिनुभएको छ त्यो बलियो हुँदै जाओस् । चलचित्र क्षेत्रबाट मेरा सम्पूर्ण प्रशंसक, समर्थक तथा नेपाली चलचित्रका दर्शकहरूलाई केही समय अझ चलचित्र क्षेत्रबाट मनोरन्जन दिनेछु ।

No comments:

Post a Comment