Monday, January 7, 2013

यसरी बार डान्सर भएँ......

स्टेजमा रंगीबिरंगी बत्ती बलिरहेको छ । साथमा चर्को आवाजमा गीत बजिरहेको छ, ‘छुनलाई होइन, हेर्नलाई पाइन्छ, उध्रेको छ यो चोली, त्यै पनि लाइन्छ…’ । त्यही गीतको हाउभाउमा नाचिरहेकी छिन्, कविता -नाम परिवर्तन) । केही क्षणमा गीत सकिन्छ । तर, बत्ती निभ्दैन । तुरुन्तै सुरु हुन्छ नयाँ हिन्दी गीत, ‘मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए..’ । तर, कविताको ठाउँमा अर्कै एक युवती स्टेजमा देखापरिसकेकी छिन् ।

कविता फ्लोरमा बसेका ग्राहकनजिक जान्छिन् र चर्को गीतको आवाजका कारण ग्राहकको कानैमा गएर सोध्छिन्, ‘दाइ, के ल्याउ“, मलाई जुस त खुवाउने होला नि ?’ ‘होइन केको जुस, तिमीलाई त म ज्यानै दिन तयार छु नि, कम्ताकी राम्री छौ तिमी,’ उत्तर पूरा हुँदा नहुँदै कवितालाई अर्को टेबलमा जाने हतार भइसकेको छ । अर्को टेबलमा पनि उनको त्यही प्रश्न । गोरो अनुहार, प्रकाशमैत्री र छोटा कपडाले कवितालाई सुन्दर देखाएको छ ।

झट्ट हेर्दा उनको जीवनको रंग अत्यन्तै रमाइलो जस्तो लाग्छ । तर, उनको कथा सुन्ने हो भने उनको यो अवस्था त सोकेसमा सजाइएको कुनै सुन्दर फूल मात्रै हो भन्ने सहज अनुमान हुन्छ । ‘अब त यही पेसामा लागेको ६ वर्ष भइसक्यो, विगत सम्झँदा पनि मुटु भक्कानिएर आउँछ’ कविता भन्छिन्, ‘सुरुमा बारमै भए पनि नाचगान गर्दा कलाकार हुने बाटोमा छु भन्ने लागेको थियो तर कहाँ त्यसो रहेछ र ? आखिर सरसंगतले रात्रिजीवन नै प्यारो लाग्न थालेको छ ।’ रात्रिजीवन प्यारो नलागोस् पनि किन, कविताले काठमाडौँलाई पाँच वर्षसम्म दिउँसोको चर्को घाम या झरीमा हेर्नै पाएकी छैनन् ।

रातभर ठमेलको डान्सबारमा काम गर्ने उनी दिनभर सुत्छिन् । साँझ उठेर केही गर्न पाएको हुँदैन, रेस्टुरेन्टबाट फोन आइहाल्छ, ‘तिम्रो डिमान्ड आयो, चाँडै आऊ न ।’ उनले काम गरेको रेस्टुरेन्ट चारतले घरको तेस्रो तलामा छ । सिँढी उक्लिँदै तेस्रो तलासम्म पुग्दा उनले ठूलो स्वरमा बजाइएको गीत सुन्छिन्, ‘मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए’ । तर, मनमनै गीत गुनगुनाउँदै सिँढी उक्लिन्छिन्, ‘जिन्दगीले यसरी धोका दियो कि भाग्य आफ्नो बुझ्नै सकिनँ…।’ उनी भन्छिन्, ‘यो भर्‍याङ चढ्दा मैले कहिल्यै पनि खुसीका गीत गाएकी छैन, सधैँ विरहका गीत गाउनुपर्छ । मलाई थाहा छ, एकछिनपछि म मुन्नी बदनाम हुई गीतमा नाच्दै छु, तर सिँढी उक्लदाँ किन-किन जिन्दगीले धोका दिएको गीतको नै याद बढी आउँछ ।’ कवितालाई १५ वर्षकी हुँदासम्म काठमाडौंको एउटा बारमा नाच्छु भन्ने लागेकै थिएन ।

 विद्यालयमा जेहेनदार विद्यार्थीका रूपमा उनको चर्चा हुन थालिसकेको थियो । नहोस् पनि किन, कक्षा आठसम्म उनी कहिल्यै दोस्रो भइनन् । ‘त्यतिवेला त सबैले मलाई माया गर्थे,’ उनी भन्छिन्, ‘माया त अहिले पनि गर्छन्, तर त्यो वेलाको माया र अहिलेको माया, कुन हिसाबमा पो दाँज्न मिल्ला र ?’ सिन्धुपाल्चोकको एउटा गाउँमा रमाइरहेको उनको जवानीले उनलाई नै धोका दियो । जब उनका बाबुले दोस्री आमा ल्याए, उनकी आमाले उनलाई पनि छाडेर अरू कसैसँग गइन् । त्यसपछि एक्लो भएको उनको जवानीमा साथ दिन आए गाउँकै एक युवक । त्यो युवकले उनलाई प्रपोज गरे, ‘काठमाडौं हिँड, म तिमीलाई एउटा जागिर लगाइदिन्छु ।’ पढ्दापढ्दैको स्कुल छाडेर उनलाई काठमाडौं आउन पटक्कै मन थिएन तर घरमा बस्ने वातावरण पनि त थिएन ।

‘त्यसपछि म एक रात त्यो दाइसँग भागेर काठमाडौं आएँ,’ उनी विगतलाई सम्भिmन्छिन्, ‘तर ती दाइले मलाई राम्रो ठाउँमा जागिर लगाउन सकेनन् ।’ सुन्दर अनुहार, छरितो शरिर र बाहिरी मुस्कान लिएर भित्र जति नै पीडा भए पनि एकदिन उनी ठमेलमा हाल काम गरिरहेको बारमा पुगिन् । उनको सुन्दरतालाई देखेर बारमा सहजै उनलाई काम दिने निर्णय गरियो ।

No comments:

Post a Comment